• १२ साउन २०८१, शनिबार

‘सन्त्रासका साठी दिन’ सार्वजनिक

blog

काठमाडौँ, जेठ २६ गते । साहित्यकार रोशन थापा ‘नीरव’ को नयाँ कृति सार्वजनिक भएको छ । शिखा बुक्सद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारहरूले सर्जक थापाको उपन्यास ‘सन्त्रासका साठी दिन’ माथि अनौपचारिक विमर्श गर्दै सार्वजनिक गरिएको हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले सर्जक थापाको उक्त उपन्यास वर्णनीय तरिकाले नलेखी मिठो र  लोभलाग्दो शैलीमा लेखिएको बताउनुभयो । उहाँले वर्णनीय लेखनशैली पढ्नेका लागि यस प्रयोगधर्मी उपन्यास केही छोटो लागे पनि सर्जक थापाको आफ्नै सरल शैलीका कारण उपन्यास निक्कै रोचक बनेको बताउनुभयो । 

साहित्यकार सन्ध्या पहाडीले लेखकसँगको करिब तीन दशकको मित्रताका कारण उहाँको जीवनशैली र स्वभावलाई नजिकबाट नियाल्ने अवसर मिलेको बताउँदै कृति ‘सन्त्रासका साठी दिन’ मा सर्जक थापाले उपन्यासको पात्र सरलमार्फत आफ्नै स्वभाव, जीवनशैली नै लेख्नुभएको बताउनुभयो ।

प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले ‘सन्त्रासका साठी दिन’ उपन्यासले हाल सहकारी संस्थाका केही सञ्चालकका बेइमानीले पीडित नेपाली बचतकर्ताका साथै सोझा सिधा सञ्चालकसमेत पीडामा रहेको कथा बोलेको बताउनुभयो । साहित्यकार थापाका यसअघि कथासङ्ग्रहरू अन्तरहिन युद्ध, तेस्रो विश्वयुद्ध, असह्य, कोष्ठकभित्र हाँसो, उपन्यासहरू प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थानान्तर, स्वप्नसहर, आवाजहरूको जङ्गलभित्र र अनि अभिमन्यु कृति प्रकाशित छन् ।