• १२ साउन २०८१, शनिबार

राजा च्याउले पाउन थाल्यो बजार

blog

काठमाडौँ, जेठ २६ गते । नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो । 

व्यापारकै सिलसिलामा कोरोना महामारीभन्दा केहीअघि चीन पुग्दा उहाँले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको महसुस गरेपछि यसको व्यावसायिक उत्पादन सुरु गरेको बताउनुहुन्छ ।

अहिले पनि यो च्याउ नेपालमा विदेशबाट आयात भइरहेकोमा नेपालमा यसको उत्पादन सुरु गरेर आयात प्रतिस्थापन गर्ने उद्देश्यले बजार पाउने विश्वासका साथ टिम बनाएर कोरोना महामारीकै आसपासमा नवलपुरमा उच्च गुणस्तरीय प्लान्टसहितको च्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो ।

अरू च्याउको भन्दा यसको डेट पनि बढी हुने । खाँदा पनि यो स्वास्थ्यका हिसाबले राम्रो भएको न्यौपानेको भनाइ छ । 

उहाँका अनुसार यो कोलेस्ट्रोल फ्री हुनुका साथै लो सोडियम अर्थात् नुनको मात्रा कम हुने र अर्गानिक पनि हुने हुँदा यसको माग दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

सुरुमा २५ लाख लगानीबाट सुरु भएको च्याउ खेतीमा मात्रै अहिले आफ्नो टिमले करिब २५ करोडभन्दा बढी लगानी गरिसकेको उहाँको भनाइ छ । नवलपुरको गैँडाकोट–१४ मा रहेको खेतीबाट प्रतिदिन चार हजार किलो च्याउ उत्पादन हुन सक्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

स्वदेशमै उत्पादनका लागि चीनबाट प्रविधि भित्र्याएको उल्लेख गर्दै न्यौपानेले चीनबाट दुई जना कामदारसमेत ल्याएर सम्पूर्ण तयारी गरेको बताउनुभयो । एनसी एग्रो टेक इन्डस्ट्रीमार्फत च्याउ उत्पादन हुँदै गर्दा कम्पनीले गुणस्तरमा विशेष ध्यान दिँदै आएको उहाँको भनाइ छ ।