• १६ भदौ २०८१, आइतबार

शैक्षिक गुणस्तर सुधार्न घोषणापत्र जारी

blog

शैक्षिक भेलामा सहभागी शिक्षक, अभिभावकलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २५ गते। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न शैक्षिक घोषणापत्र जारी गरेको छ। एकदिने शैक्षिक भेला आयोजना गर्दै गाउँपालिकाले शुक्रबार १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेको हो।

पछिल्लो समय खस्किँदै गइरहेको सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई सुधार गर्ने उद्देश्यसहित शैक्षिक भेला गरी घोषणापत्र जारी गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो। अध्यक्ष पोमुका अनुसार शिक्षाको गुणस्तर सुधार्ने कार्यमा शिक्षक, विद्यार्थी र अभिभावक समेतलाई जिम्मेवार बनाउनेगरी घोषणापत्र जारी गरिएको छ।

गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र बिद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर (उपस्थित) भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसको अवसरमा प्रोत्साहन गरिने उल्लेख छ। यस्तै विद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश गर्न नदिने भएको छ। हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिकाहरु समयानुकूल परिमाजर्नन गर्दै लैजाने घोषणा गरिएको छ। 

त्यस्तै प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावली बमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, बिषयगत र प्रविधिमा दख्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई बिद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आववश्यक तालिम तथा सीप प्रदान गरिने भएको छ।

शिक्षकको पेशागत सहयोग, सुपरीवेक्षण र निरीक्षण गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्ने गाउँपालिकाले घोषणा गरेको छ। बिद्यालयमा आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्न पालिकाभरिका प्रत्येक बिद्यालयको आन्तरिक तथा अन्तिम लेखा परीक्षणलाई थप प्रभावकारी बनाई निरन्तरता दिने, प्रधानाध्यापकसहित शिक्षक, कर्मचारी, बाल सहजकर्ताको क्षमता विकासका लागि आवश्यक कार्यक्रम कायान्वयन गरिने भएको छ। 

यसैगरी बिद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छ भने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई मजबुद बनाउने अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ। बिद्यालय मातहतमा रहेको भौतिक तथा जिन्सी सामग्री र नगद व्यवस्थापनलाई नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउने गाउँपालिकाले घोषणा गरेको छ। शैक्षिक घोषणापत्र जारी गर्न जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैले साझा सहमति जनाएका छन्।