वालिङ समाचारदाता
वालिङ, जेठ २५ गते । बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत् महसुलमा वृद्धि भएसँगै स्याङ्जा तथा पाल्पामा विरोध तीव्र भएको छ । विद्युत् महसुल वृद्धि गरिएसँगै प्रभावित क्षेत्रका पालिकाले पनि सक्रियता देखाएका छन् । आआफ्ना नागरिक प्रत्यक्ष मारमा पर्ने भन्दै महसुल फिर्ता गर्न पालिकाले दबाब दिएका हुन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि वालिङमा भेला भएर महसुल फिर्ता गराउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा चापाकोटका नगरप्रमुख देवबहादुर खाण (ईश्वर) ले कम गुणस्तरको विद्युत् वितरण गर्दै आएको बिपिसीले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुने बताउनुभयो । प्रभावित क्षेत्रका स्थानीय सरकार, उपभोक्ता, राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । बिजुलीको गुणस्तर कम हुँदा पालिकाका कामसमेत प्रभावित भइरहेको भन्दै यो मूल्य वृद्धि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले नागरिकलाई प्रत्यक्ष असर पर्ने भएकाले विद्युत् महसुल घटाउनुको विकल्प नभएको बताउनुभयो । तत्काल गुणस्तरमा सुधार गर्नुपर्नेमा उहाँको जोड छ । पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले महसुल वृद्धिले नागरिकको दैनिकीलाई नै प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सात पालिकाका ४० हजार परिवारले उपभोग गर्दै आएको विद्युत् महसुल एकाएक ८० प्रतिशतसम्म वृद्धि गरिनु साह्रै दुःखद छ ।”
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैरेले प्रभावित क्षेत्रका पालिका मिलेर जानु पर्छ भनेर संयुक्त छलफल कार्यक्रम राखिएको जानकारी दिनुभयो । महसुल वृद्धिले नागरिकलाई आर्थिक भार पर्ने भन्दै तिवारीले गुणस्तरीय विद्युत् उपभोग गर्न उपभोक्ता वञ्चित रहेको बताउनुभयो । छलफलमा नेपाली कांग्रेस वालिङका सभापति नेत्रप्रसाद पाण्डे, नेकपा (एमाले) वालिङका अध्यक्ष शोभाकान्त पौडेल, रास्वपाका प्रतिनिधि प्रकाश अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैरे, नेकपा समाजवादीका जगदीशप्रसाद गैरे, नेकपाका ध्रुव गौडेललगायतले महसुल वृद्धि फिर्ता गराउनका लागि अहिलेसम्म भएका गतिविधि तथा अब तत्कालै गर्नुपर्ने व्रिmयाकलापका बारेमा बोल्नुभएको थियो ।
जनप्रतिनिधिको छलफलले नेपाल सरकार र युनाइटेड मिसन टु नेपाल तथा बुटवल पावर कम्पनीबिच भएको सम्झौता र आँधीखोला जलविद्युत् केन्द्रको ‘अपग्रेड’ गर्दा नेपाल सरकारसँग भएको सम्झौताका बारेमा अध्ययन गर्ने निर्णय भएको छ । वालिङ नगरपालिकाको संयोजनमा सम्झौताका विषयमा अध्ययन गर्ने र आन्दोलनका भावी योजनाका बारेमा पुनः छलफल गर्ने निर्णय भएको वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो ।