• १२ साउन २०८१, शनिबार

विद्यार्थीको आकर्षणको केन्द्र मालिका माध्यमिक विद्यालय

blog

बिहानीको प्रार्थना गर्दै मालिका माविका विद्यार्थी ।

शेरबहादुर सार्की

बाजुरा, जेठ २५ गते । सदरमुकाम मार्तडीमा रहेको मालिका माविमा बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । २०८१ सालको नयाँ भर्नामा कतिपय विद्यालयलाई कक्षा खाली हुने डर भएको अवस्थामा मालिका माविमा भने विद्यार्थी सङ्ख्या बढेको छ ।

२०७६/७७ सालदेखि यो विद्यालयले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी र ६ देखि १२ कक्षासम्म अङ्ग्रेजी तथा नेपाली माध्यमबाट पढाइ सुरु गरेसँगै यस विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएको हो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन सुरु गरेको छ । अन्य संस्थागत तथा निजी विद्यालयबाट पनि विद्यार्थी भर्ना हुन सो विद्यालयमा आउने गरेका छन् । 

त्रिवेणी नगरपालिका–१, छताराका कृष्णबहादुर रावलले मालिका माविमा राम्रो पढाइ हुने गरेको सुनेपछि छोराछोरीलाई भर्ना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयको जस्तो फी तिर्नु नपर्ने र पढाइ धेरै राम्रो भएकाले मैले मेरा छोराछोरीलाई यो वर्षदेखि यतै भर्ना गरेको हुँ ।”

मालिका माविको कक्षा ९ का छात्र नितेश खत्री अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने भएकाले आफूलाई अन्य विद्यालयभन्दा यहीँ पढ्न सहज भएको बताउनुहुन्छ । 

२०८० सालको भर्नामा बाजुराका अधिकांश विद्यालयलाई कक्षा ६ र ९ का विद्यार्थी पाउन निकै सकस भयो । यो वर्ष नगरले लिएको कक्षा ५ र ८ को नगरस्तरीय परीक्षामा अधिकांश विद्यार्थी फेल भएपछि ती विद्यालयलाई कक्षा ६ र ९ का विद्यार्थी पाउन मुस्किल भएको हो ।

यस जिल्लाका अधिकांश विद्यालयमा केही वर्षयता विद्यार्थी सङ्ख्या बिस्तारै घट्दै गएका छन् । विगत दुई वर्षदेखि शैक्षिक क्षेत्रमा निकै सुधार ल्याएको मालिका माविका सूचना अधिकारी शेरबहादुर रावलले बताउनुभयो । यो विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या धेरै छ । 

यो वर्ष ९४७ छात्र र १०९२ छात्रा गरी दुई हजार ३९ विद्यार्थी अध्ययनरत छन् । यो वर्ष संस्थागत तथा निजी विद्यालयका ३२० जना विद्यार्थी भर्ना भएका सूचना अधिकारी रावलले बताउनुभयो ।

मालिका माविले विगतका वर्षदेखि गुणस्तरीय शिक्षामा जोड दिँदै आएकाले यो वर्षको शैक्षिक सत्रको भर्नामा जनप्रतिनिधि, शिक्षक कर्मचारीका छोराछोरीसमेत यतै भर्ना भएको प्रधानाध्यापक शुभराज तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा दरबन्दी तथा निजी स्रोतबाट गरी ६२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयले बिहानी र दिवा गरेर दुई सिफ्टको अध्ययन अध्यापन गर्ने गरेको छ ।”

सो विद्यालयमा कक्षा ११ र १२ सिटिइभिटीमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र प्रिडिप्लोमा पढाइ हुने गरेको छ । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण मालिका मावि भएको छ ।

विद्यालय भवन, खानेपानीलगायतका भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको अभाव देखिएको छ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक छैनन् । यो समस्यालाई स्थानीय प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरिदिने हो भने दूरदराजका बालबालिकालाई चाहे जस्तै शिक्षा प्रदान गर्न सकिने प्रधानाध्यापक तिमिल्सिनाको दाबी छ । 

बाजुरा जिल्लामा २३७ सामुदायिक र ३० संस्थागत गरी २६७ विद्यालय छन् । पछिल्लो समयमा मालिका माविमा विद्यार्थी सङ्ख्या बढ्दै गएको जिल्ला शिक्षा एकाइ समन्वय समितिका सूचना अधिकारी लोकेश विष्टले बताउनुभयो ।