• १६ भदौ २०८१, आइतबार

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

blog

किसानलाई वितरण गर्न राखिएको कृषि चुन । तस्बिरः विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, जेठ २३ गते । अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ७५ प्रतिशत अनुदानमा ढैँचा (हरियो) मल वितरण गरेको धनुषाको मिथिला नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन ठूलो मात्रामा कृषि चुन वितरण गरेको छ । 

नगरपालिकाले २८० टन कृषि चुन खरिद गरी नगर क्षेत्रभित्रका किसानलाई वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले माटोको अवस्थामा सुधार ल्याउन ७५ प्रतिशत अनुदानमा किसानलाई कृषि चुन वितरण गरिरहेको बताउनुभयो । 

माटो परीक्षणको नतिजाअनुसार नगर क्षेत्रभित्रको ६५ प्रतिशत खेतियोग्य माटो बिग्रिएको अवस्थामा देखा परेपछि त्यसमा सुधार ल्याउन किसानलाई कृषि चुन उपलब्ध सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

कृषि शाखाका प्राविधिक उमेश महतोले केही दिनअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मधेश प्रदेश र मिथिला नगरपालिका कृषि शाखाको समन्वयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरबाट नगर क्षेत्रभित्रको ६५ प्रतिशत खेतीयोग्य माटोको उर्वराशक्ति कमजोर अवस्थामा पुगेको  बताउनुभयो । 

तीन दिनसम्म चलेको उक्त शिविरमा ३३७ स्थानको माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । “किसानको खेतबारीबाट माटो ल्याएर परीक्षण गर्दा माटोमा अम्लीयपना एकरुपता देखिएन । सामान्यतया माटोमा पिएचको मात्रा ६.५ देखि ७.५ सम्मलाई उत्पादनका लागि उपयुक्त मानिन्छ । यहाँ ४.५ देखि ८.५ पिएचसम्म देखियो” कृषि प्राविधिक उमेशले भन्नुभयो । 

रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग एवं बाली चक्र नअपनाउनेजस्ता कारणले माटोमा अम्लीयपना घटबढ भएर उर्वरा शक्तिमा ह्रास आउने गरेको छ । विशेषगरी तरकारी खेती गरिने खेतबारीमा अम्लीयपना बढी देखिएको उहाँको भनाइ छ । माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।