• १२ साउन २०८१, शनिबार

उत्साहित पार्न आकर्षक कार्यक्रम

blog

गोदावरी समाचारदाता

गोदावरी (कैलाली), जेठ २३ गते । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गतालगायत विपन्न वर्ग तथा समुदायको अधिकारका लागि सरकार सदैव लागिपर्ने बताउनुभएको छ । आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपाल (निडवान) ले आयोजना गरेको चारदिने अन्तरप्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयार पारिरहेका बेला अपाङ्गता महिला सङ्घले आफ्नो दायित्वबारे स्मरण गराएकामा धन्यवाद दिँदै उहाँले भन्नुभयो, “सरकारले पूर्णता नपाए पनि जति दिन सरकारमा रहन्छौँ त्यति समयसम्म लक्षित समुदायलाई निराश हुन दिने छैनौँ ।” 

प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले अपाङ्गता भएकालगायत लक्षित समुदायको जीविकोपार्जन सहज पार्न प्रदेश सरकारले पञ्चवर्षीय योजनामा विभिन्न कार्यक्रम समेटेको जानकारी दिनुभयो । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले गत वर्ष प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई होच्याएको र बजेट पनि कटौती गरेको गुनासो राख्नुभयो । चार दिनसम्म चल्ने नेतृत्व विकास तालिममा निडवानका अध्यक्ष तथा प्राध्यापक प्रतिमा गुरुङ र अपाङ्गता अधिकारकर्मी कृष्ण गहतराजले अपाङ्गता भएका नागरिकको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि २००६ (सिआरपिडी) र यसको प्रभावकारी कार्यान्वयका विषयमा प्रशिक्षण दिनुहुने छ । 

तालिममा सुदूरपश्चिमका नौ जिल्लाका प्रतिनिधि, कैलालीका गोदावरी, भजनी र कैलारी पालिकामा रहेका अपाङ्गताका क्षेत्रमा काम गरिरहेका संस्था, कर्णाली प्रदेशका वीरेन्द्रनगर र वाराही पालिकामा रहेका अपाङ्गता अधिकारकर्मी गरी ५० भन्दा बढीको सहभागिता रहेको छ ।