• १२ साउन २०८१, शनिबार

छत्रकोटको स्थानीय पाठ्यक्रम सार्वजनिक

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ २२ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, रीतिरिवाज, चालचलन, पेसा व्यवसाय, इतिहासदेखि हालसम्मको विकासक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको पाठ्यक्रम सार्वजनिक गरिएको हो । 

“हाम्रो छत्रकोट” नामक पाठ्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँले निमार्ण गरिएको स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान सफल भएको बताउनुभयो । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा चुनौती र जिम्मेवारी थपिएको भन्दै यहाँका शिक्षकहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले लक्ष्य सजिलै प्राप्त हुने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

त्यस अवसरमा गत शैक्षिक सत्र–२०८० मा आधारभूत तह र माध्यमिक तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको छ । आधारभूत तह परीक्षा उत्तीर्ण (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १०) र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १२) मा ३.२ जिपिए भन्दा माथि अङ्क ल्याउने ९९ जना विद्यार्थीलाई सम्मान गरिएको हो । 

दुईदेखिको लगातारको मेहनतले तयार पारिएको “हाम्रो छत्रकोट” नामक पाठ्यक्रम यस शैक्षिक सत्र–२०८१ गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनका लागि लागू गर्न स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले बताउनुभयो । 

यस गाउँपालिकाभित्र २८ वटा सामुदायिक, १ वटा संस्थागत विद्यालय र १४ वटा बालविकास केन्द्र रहेका छन् । यहाँका विद्यालयमा झण्डै ५२ सय विद्यार्थी अध्ययनरत छन् ।