• १३ साउन २०८१, आइतबार

बजेट बिचौलिया केन्द्रित नहोस् : नेता रावल

blog

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित अन्य नेताहरु । तस्बिरः प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ २१ गते । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम आफूहरूले भनेजस्तै आए पनि  आगामी आर्थिक वर्षको बजेट जनमुखी हुनुपर्ने बताएको छ । 

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । नेता रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम ल्याएको बताउँदै नीति तथा कार्यक्रम कार्यान्वयन गर्न माग गर्नुभयो ।  

पूर्व मुख्यमन्त्री समेत रहनु भएका रावलले भन्नुभयो, “सरकारले अहिले बजेट बनाउँदा बिचौलिया हाबी हुन थालेका कुरा सुनिन्छ । ती बिचौलिया नियन्त्रण गर्न मुख्यमन्त्री स्वयम्ले पहल गर्नुपर्छ ।’

ठेकेदार, स्कुलका मास्टरहरू चेक लिएर आउने अवस्था बन्द गर्नुपर्छ, उहाँले भन्नुभयो, “सरकारी कर्मचारीको संलग्नतामा बजेटमा कमिसन दिने कुरा मुख्यमन्त्रीको पहलमा बन्द हुनुपर्छ ।”

उहाँले सबैको भावना अनुसारको बजेट तयार गर्नुपर्ने र बजेट कार्यान्वयन विधि, नीतिअनुसार हुनु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा प्रगतिशील नीति तथा कार्यक्रम आएको छ । यसले जनताको जीवनस्तर सुधार गर्न सहज हुनेछ ।” 

यहाँको जनशक्ति उपयोग गर्नेदेखि जमिन बाँझो नराख्नेसम्मको नीतिमा बजेट विनियोजन गर्ने र एक जिल्ला एक पुरातात्त्विक गन्तव्य बनाउन सरकार गम्भीर बन्नु पर्छ, उहाँले भन्नुभयो । विगतमा मुख्यमन्त्रीका नाममा रहेको योजना अहिले सुदूरपश्चिमका विभूतिको नाममा राखिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।