काठमाडौँ, जेठ २१ गते । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सम्पन्न भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रदर्शनबाट सुरु भएको महोत्सव टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शनसँगै सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएका थिए ।
किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र देखाइएको थियो । काठमाडौँ महानगरपालिका सहआयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएका थिए । महोत्सवमा फिल्म प्रदर्शनबाहेक अन्तर्क्रियात्मक छलफल, पुस्तक तथा फोटो प्रदर्शनी, प्रतिस्थापन कला प्रदर्शनलगायत गतिविधि गरिएको थियो । महोत्सवको अक्ष्यक्ष रम्यता लिम्बूका अनुसार विभिन्न समूहसँग सहकार्य र संयोजन गर्ने उद्देश्यले भएका यस्ता गतिविधिमा चलचित्र निर्माता, चलचित्र प्रेमी, समीक्षक, बौद्धिक जमात, पत्रकार, कलाकार र पर्वतारोहीलगायतको उपस्थिति रहेको थियो । पाँचदिने महोत्सवमा युवा दर्शकको बढी सहभागिता रहेको थियो । महोत्सवमा नेपाल, भुटान, कोरिया, भारतलगायत देशका फिल्म निर्मातासमेत दर्शकका रूपमा सहभागी थिए ।
अन्तर्राष्ट्रिय विधा र नेपाल पानारोमा अन्तर्गत महोत्सवमा प्रतिस्पर्धी चलचित्र तथा वृत्तचित्र प्रदर्शन भएका थिए । निर्देशक/निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्विट्जरल्यान्ड) किम्फ २०२४ को निर्णायक मण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरामा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनोट गरिएको थियो ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिएको छ । नेपाल पानोरमा अन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई क्रमशः एक लाख रुपियाँ र दर्शकको लोकप्रिय भोट पाउने वृत्तचित्रले एक लाख रुपियाँ पुरस्कार राशि रहेको अडियन्स च्वाइस अवार्ड प्राप्त गरेको छ । किम्फ इटालीको टुरिन सहरमा मुख्यालय रहेको इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आइएएमएफ) को सदस्य रहेको छ ।
नेपाल पानारोमा
स्पेसल मेन्सन्स : द मोङ्क एन्ड द रेबेल र हावाम्यान
जोइन्ट विनर : दुबिधा र नेपाली फिक्सन
नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री
स्पेसल मेन्सन्स : रोङफामु र वाग्गिङ टेल
विजेता : धाइ ड्रिम्स
इन्टरनेसनल सर्ट फिक्सन
स्पेसल मेन्सन्स : नथिङ ग्रोज अन्डर दी पाइन ट्रि र स्प्लिट इन्ड्स
विजेता : एडजस्टमेन्ट
इन्टरनेसनल फिचर फिक्सन
अ चाइल्डलेस भिल्लेज
इन्टरनेसनल सर्ट डकुमेन्ट्री
स्पेसन मेन्सन्स : इटर्नल फ्लेम र फरवार्ड
विजेता : क्लाइम्बिङ फर गोल्ड
फिचर डकुमेन्ट्री
स्पेसल मेन्सन्स : इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्का : द र्याग्ड एज, क्विनडम र अगेन्स्ट दी टाइड
विजेता : रिओ रोजो
दर्शकको भोट पाउन सफल वृत्तचित्र अडियन्स च्वाइस अवार्ड : म अलप हुन चाहन्छु