• १२ साउन २०८१, शनिबार

मेसिन खरिदमा उद्यमीलाई अनुदान

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ २१ गते । लघु, घरेलु तथा साना उद्यमीलाई मेसिन खरिद गर्न ५० देखि ९० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको सो कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको लुघ, घरेलु तथा साना उद्योग प्रवर्धन तथा प्रविधि हस्तान्तरण कार्यविधि २०८० हालै मन्त्रीपरिषद्मा पारित भई कार्यान्वयनमा आएको छ । 

लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको वार्षिक बजेट तथा कार्यक्रममा उल्लिखित उद्यम प्रवर्धन, सिप विकास र प्रविधि सहयोग, प्रविधि हस्तान्तरण, बिउ पुँजीमा सहयोग तथा औद्यौगिक प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले मेसिन खरिदमा अनुदानको व्यवस्था गरिएको हो । 

सो कार्यक्रम अनुसार उद्यमीले मेसिन खरिद गर्न लाग्ने रकमका आधारमा ५० देखि ९० प्रतिशतसम्म अनुदान पाउने छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले कार्यक्रम धेरै राम्रो भए पनि अन्तिममा आएकाले यो वर्ष कार्यान्वयनमा हुने अवस्था नदेखिएको बताउनुभयो ।

महासङ्घकै सिफारिसमा कार्यक्रम बजेटमा व्यवस्था गरिएको थियो, सरकारकै ढिलाइका कारण कार्यक्रम कार्यान्वयनमा आउनेमा आशङ्का देखिएको छ । समयमै कार्यक्रम लागु हुन सके लघु घरेलु तथा साना उद्यमीलाई प्रवर्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । 

आवको अन्तिममा पास भएकाले लागु हुन कठिन देखिएको हो । सो कार्यक्रम अन्तर्गत लघु, घरेलु तथा साना उद्योगलाई मेसिन खरिदमा ५० देखि ९० प्रतिशतसम्म अनुदान दिने व्यवस्था छ । 

लघु, घरेलु तथा साना उद्योगमा प्रविधि हस्तान्तरण अन्तर्गत सञ्चालन हुने कार्यक्रममा लागत सहभागितामा लघु तथा घरेलु उद्योगमा प्रविधि सहयोग कार्यक्रम रहेको छ । 

यस्तै लघु उद्यम तथा मागमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिने र यस कार्यक्रमको लक्षित वर्ग लघु उद्योगमा संलग्न उद्यमी हुने छन् । स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने नमुना कार्यक्रम सञ्चालन गरिने छ । 

परम्परागत सिपको प्रवर्धन र वस्तु उत्पादन वृद्धि गर्दै बजारीकरणका लागि सहयोग गर्न ल्याइएको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन तथा प्रविधि हस्तान्तरण कार्यविधि अनुसार यस्तो अनुदान उपलब्ध गराउन लागिएको मन्त्रालयले जनाएको छ । प्रविधि हस्तान्तरणका लागि सरकार वा स्थानीय तहले प्रस्ताव आह्वान गर्ने र स्वीकृत गर्दा प्रविधि खरिदका लागि उद्यमीलाई लागतका आधारमा अनुदान रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । 

कार्यविधि अनुसार दुई लाखभन्दा माथि पाँच लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ८० प्रतिशत बराबरको रकम उपलब्ध गराइने उल्लेख छ । यस्तै पाँच लाखभन्दा माथि र १० लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ७० प्रतिशत बराबरको रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । 

यस्तै १० लाखभन्दा माथि १५ लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ६० प्रतिशत बराबरको रकम र १५ लाखभन्दा माथि अधिकतम २० लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ५० प्रतिशत बराबरको अनुदान रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र वा स्थानीय तहले सञ्चालन गर्ने यो कार्यक्रममा उद्यमीले माग गरेको प्रविधिको स्पेसिफिकेसनका आधारमा प्रविधि खरिदका लागि प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम लागत अनुमान तयार गर्ने व्यवस्था छ ।

उद्यमीले प्रविधि हस्तान्तरणका लागि रीतपूर्वक प्रस्ताव पेस गर्नुपर्ने र प्राप्त हुने प्रस्तावको मूल्याङ्कन स्वतन्त्रपूर्वक हुने उल्लेख छ । उद्योगको सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिन वा उपकरण वा औजार र सो सञ्चालन गर्न आवश्यक पर्ने विशेष प्रकारको सिपका आधारमा यो निर्णय हुने उल्लेख छ । 

लघु, घरेलु तथा साना उद्योगमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको परिधिभित्र रही केन्द्रले क्षेत्र तोक्ने उल्लेख छ । जसको आधारमा गरिबीको अवस्था, पूर्वाधार, लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या, रोजगारीको अवस्था, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, लागत साझेदारी, बजेटको सीमासमेतका आधारमा प्रविधि हस्तान्तरण गरिने प्रदेश, जिल्ला वा स्थानीय तह छनोट गर्नुपर्ने जनाइएको छ ।