• १३ साउन २०८१, आइतबार

बल्दे–अम्कोट सडक अनुगमन

blog

बाजुरा समाचारदाता

बाजुरा, जेठ २० गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार सो सडक अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्खाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यो वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बर्खाका समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको हो । सो सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ । बर्खा लागेसँगै मनसुन सुरु हुनुअगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको बुढीगङ्गा नगरपालिका–२ का यातायात व्यवसायी वीरबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदमा पनि ठुला सवारीसाधनलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ, बर्खाको समय कस्तो होला ?” दैनिक रूपमा सडक अवरुद्ध बन्ने गरेकाले बर्खाको समय सदरमुकाम मार्तडीका व्यापारीले उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्दा निकै सास्ती खेप्दै आएको थापाले बताउनुभयो ।

गत वर्ष लामो समयसम्म सडक अवरुद्ध हुँदा व्यापारीले सामान भरियामार्फत ढुवानी गर्न बाध्य भएका थिए । गत वर्ष असारदेखि भदौसम्म अवरुद्ध सो सडक हिउँदमा केही दिनमा गाडी सञ्चालन भए पनि बर्खाको समयमा फेरि उस्तै हुने गरेको छ ।

हिउँदका केही दिन बस, ट्रक, जिप र ट्याक्टर मार्तडीदेखि कोल्टीसम्म सञ्चालन हुँदै आए पनि बर्खामा ती सबै सवारीसाधन बल्देमै रोकिने गर्छन् । गाडी सञ्चालन भएको समयमा सस्तो र सुलभ रूपमा सामान खरिद गर्दै आएका स्थानीयवासीलाई बर्खाको समय सधैँ चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता छ । 

बर्खाको समयमा बल्दे–अम्कोट सडकको मुनि र माथिबाट एकैसाथ पहिरो बग्ने गरेकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । सो सडकलाई नियमित सञ्चालन गर्ने उद्देश्यले स्थलगत सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । बर्खाको समयमा एक्साभेटर राखिराख्ने र सडक अवरुद्ध हुनेबित्तिकै परिचालन गरी सडक सफा गर्ने हो भने नियमित रूपमा सडक सञ्चालन गर्न सकिने सम्भावना रहेको प्रजिअ पौडेलले बताउनुभयो । सो सडक अवरुद्ध भएपछि वैकल्पिक सडकलाई व्यवस्थित गरेर जिप, ट्याक्टरलगायतका साना सवारीसाधन सञ्चालन गर्न सकिने विकल्प रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।