• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

blog

काठमाडौँ, जेठ १७ गते । २१ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारबाट सुरु भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको चलचित्र ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै महोत्सव सुरु भएको हो । ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबिचको आत्मीय सम्बन्धको कथा हो । 

भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जङ्गलबाट सिकारीको आक्रमणमा परेको बाघको बच्चाको उद्धार गर्छन् । त्यसपछि रोचक र अनौठो ढङ्गले यी दुईबिच मित्रता गाँसिन्छ । यो मित्रतापछि उनीहरू हिमालय रेन्जमुनिका पहाडको रोमाञ्चक यात्रामा निस्कन्छन् तर उनीहरूको पछि पछि सिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह अवरोह ल्याइदिन्छ । 

चलचित्रको कथा बौद्धधर्मको एउटा किंवदन्तीमा आधारित छ । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो चलचित्रमा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ । नेपालमा छायाङ्कन भएको यो चलचित्रमा लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ । 

किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तनको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इङ्गित गर्ने बताउनुभयो । उहाँले किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटिटीको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ नयाँ परिवर्तन आत्मसात् गर्दै अघि बढेको उल्लेख गर्नुभयो । 

उहाँले किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दा र कथा शैलीबारे जानकारी तथा अनुभव लिन सकिने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रतिनिधि प्रदीप परियारले चलचित्रले नेपाली कला संस्कृतिलाई विश्व अवसरमा पु¥याउने माध्यम भएको बताउनुभयो ।

लेखक तथा निर्देशक जोन पोर्टरले आफू ४५ वर्षअघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको तर नेपालीको हाँसो भने जस्ताको तस्तै रहेको बताउनुभयो । उहाँले मानव सभ्यतामा हिमाली पर्वतमालाको ठुलो प्रभाव रहेको चर्चा गर्दै सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेको बताउनुभयो । जेठ २० सम्म सञ्चालन हुने महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुने छन् ।