स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), जेठ १५ गते । गणतन्त्र दिवस २०८१ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा जनकपुरधामको जानकी मन्दिरमा विशेष सरसफाइको आयोजना गरिएको छ । आज बिहान करिब ९ बजेको समयमा उहाँले सरसफाइ गरेर जनतामाझ सरसफाइ हाम्रो आवश्यकता रहेको सन्देश दिनुभएको छ ।
यस विशेष अवसरमा मुख्यमन्त्री यादवले गणतन्त्र स्थापनामा योगदान दिने ऐतिहासिक जनआन्दोलनका तथा विभिन्न परिवर्तनकारी आन्दोलनहरूमा सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु सम्पूर्ण जातजाति, समुदाय सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक आर्थिक समृद्धि तर्फ लैजानु आजको मुख्य आवश्यकता रहेको मुख्यमन्त्री यादवले उल्लेख गर्नुभएको छ ।
सामाजिक, आर्थिक, सांस्कृतिक एवम् जनताको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय एकता महत्त्वपूर्ण रहेको छ यसका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयन र आर्थिक विकासका पक्ष महत्त्वपूर्ण सहयोग गर्ने र शहीदका अधुरा सपनाहरू पूरा गर्न सबैजना आ–आफ्ना ठाउँबाट इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्नुभएको छ ।
सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सामासिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।