• ४ असार २०८१, मङ्गलबार

बजेट उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन आवश्यक : अध्यक्ष कुँवर

blog

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर

काठमाडौँ, जेठ १४ गते । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेट उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको हो । उहाँले उत्पादन, रोजगारीमूलक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले रोजगारीमूलक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताउनुभयो । उहाँले मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढ्दै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिह्न खडा भएको बताउनुभयो । उहाँले वृद्धहरूको आयु बढ्दै जाने र सरकारले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गर्दै लैजाँदा सरकारलाई हरेक वर्ष दायित्व बढ्दै गएको बताउनुभयो ।

अध्यक्ष कुँवरले सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई सामाजिक सुरक्षामा समेट्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रूपमा लागू गरी श्रम बजारलाई द्वन्द्वरहित बनाउने बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले त्यस्तो बजेट आएमा उत्पादनमूलक हुने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको मान्यता रहेको बताउनुभयो । अध्यक्ष कुँवरले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने बजेट ल्याउनसके मुलुकको श्रम बजार मर्यादित हुने बताउनुभयो ।