• ३ असार २०८१, सोमबार

मर्यादा विपरीत काम गर्ने दुई शिक्षक पदमुक्त

blog

सिराज खान
नेपालगन्ज, जेठ १४ गते  । 
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।

पेसागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णकुमार चौधरीले बताउनुभयो ।

आइतबार केही अराजक व्यक्तिहरूसँगै शिक्षकद्वय राना र चौधरीले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएको गाउँपालिकाले जनाएको छ ।

शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउँदै केही व्यक्तिहरूले कार्यालयमा प्रवेश गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारबाहीका लागि गाउँपालिकाले पत्राचार गरेको जनाएको छ ।

शिक्षा क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न गाउँपालिका क्रियाशील रहेको जनाउँदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा धेरै राम्रो काम गरेकोले शिक्षकहरूलाई विचलित नभएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

उहाँले पदीय आचरण विपरीत काम गर्ने अन्य शिक्षकहरूको पनि पहिचान गरी कारबाही गर्ने बताउनुभयो । पेसागत दायित्व विपरीत काम गरेकोले दुई शिक्षकलाई पदमुक्त गरेको गाउँपालिकाले जनाएको छ ।

शिक्षामा अन्य पालिकाहरूभन्दा निकै पछाडि परेको नरैनापुरका विद्यालयहरूमा शिक्षक नियमित नपुग्ने, पुगेपनि अध्यापन नगराउने, हाजिर गरेर अन्य काममा लाग्ने गरेको गुनासाहरू विगतमा पटक पटक सुनिने गरिएको थियो ।

तर गत केही समय यता आएर शिक्षा शाखाको कडाइ र पालिकाले पनि विशेष ध्यान दिएकाले विद्यालयहरूको अवस्थामा सुधार हुँदै गएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।