• ३ असार २०८१, सोमबार

पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम

blog

गण्डकी, जेठ १४ गते । विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।

प्राध्यापकहरुलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ । कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज जोनले प्राध्यापकहरु प्राध्यापनसँगै निरन्तर अनुसन्धानमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो । वर्तमानमा अनुसन्धानात्मक लेखन र त्यसको प्रकाशनविना प्राध्यापकहरुको प्राज्ञिक उन्नति हुन नसक्ने उल्लेख गर्दै उहाँले प्राज्ञिक लेखन कार्यशाला अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले कार्यशालामा विभिन्न विज्ञहरुबाट प्राज्ञिक लेखन सम्बन्धमा महत्वपूर्ण जानकारीहरु प्रदान गरिने जानकारी दिनुभयो । एकाइका संयोजक चूडामणि कँडेल, प्राध्यापक सत्यराज सुवेदी, सह प्रा.डा.काशिनाथ कण्डेल, अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा.प्रकाश पौडेललगायतले कार्याशालाको महत्व लगायतमा बोल्नुभएको थियो । कार्यक्रम अन्तर्गत लघु अनुसन्धानको प्रस्तावना लेखन विषयक कार्यशालाको सहजीकरण जनता विद्यापीठ, दाङका अनुसन्धान व्यवस्थापन एकाइका संयोजक उप प्रा.डा.खगेन्द्र घोडासैनीले गर्नुभएको थियो । रासस