• ४ असार २०८१, मङ्गलबार

गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १४ गते । गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा गलेश्वर पुलस्त्य पुलहाश्रम अन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी एक सयभन्दा बढीलाई भोजन गराइएको गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो ।

सामाजिक कार्यलाई नै प्राथमिकता दिने हेतुले गलेश्वरमा रहेका ज्येष्ठ नागरिकलाई भोजन गराइएको जिल्ला समन्वय समितिका प्रमुखको भनाइ छ ।

बेसहारा तथा ज्येष्ठ नागरिकलाई कुनै पनि अभाव हुन नदिने गरी व्यवस्थापन गर्नुपर्ने भएता पनि आश्रममा आएर बस्न बाध्य भएकाको पनि हेरचाह राज्यको दायित्व रहेको मूल समारोह समितिका संयोजक थापाको भनाइ छ । 

घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर स्वास्थ्य, खानपिन, लत्ता कपडासहितका आधारभूत आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । 

आश्रमले म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका झण्डै ८० ज्येष्ठ नागरिकको रेखदेख गर्दैआएको छ । घरपरिवारमा छोराछोरी भएका बृद्धबृद्धा लाई समेत बोझ भन्दै आश्रममा छाडेर गएपछि अहिले सङ्ख्या बढेको ज्येष्ठ नागरिक आश्रमका सदस्यले जनाएका छन् । 

भोजन कार्यक्रममा नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपा (माओवादी केन्द्र) का शेरबहादुर केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्रीलगायतको उपस्थिति थियो । 

भोजन तथा दक्षिणा वितरण कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण घर्तीक्षेत्रीले गर्नुभयो । म्याग्दीमा गणतन्त्र दिवस प्रभातफेरी, वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन, ४० वर्षदेखि माथिका उमेर समूहका लागि बेनी अस्पतालमा निःशुल्क आधारभूत आँखाजाँच शिविर लगायतको काम गरेर जिल्लाका सबै स्थानीय तहमा गणतन्त्र दिवस मनाइने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।