• ४ असार २०८१, मङ्गलबार

अवैध उत्खनन रोक्न अनुगमन

blog

बाँकेको मानखोलाको नदीजन्य पदार्थको अनुगमन गर्दै जिल्ला अनुगमन टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १४ गते । बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने मानखोलाको अनुगमन गरिएको छ । अवैध रुपमा नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन तथा तोकिएको भन्दा बढी उत्खनन भएको गुनासो आएपछि माखोलाको अनुगमन गरिएको हो । 

बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेर नदीजन्य पदार्थको अवैध उत्खननबारे बुझ्ने काम गरेको समितिले जनाएको छ । अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानुन अनुसार उत्खनन् र संकलन गर्न सचेत गराइएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख तथा अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले जिल्लाका विभिन्न नदी र खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन्को नियन्त्रण तथा नियमन गर्नका लागि अनुगमनको कार्य नियमित रुपमा भइरहेको बताउनुभयो । 

अनुगमन समितिले बैजनाथ गाउँपालिकाको वडा नम्बर २ को राजीपुर कन्याराज खोला, पहाडीपुर खोला र मकैबारी खोलाको पनि अनुगमन गरेको थियो । अनुगमन टोलीमा अनुगमन समितिका संयोजक जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिशकुमार अर्याल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक विमल डाँगी, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाही र उपाध्यक्ष निर्मला रोकायलगायतको सहभागिता रहेको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाँकेमा नदीजन्य पदार्थको उत्खनन र सङ्कलनका बारेमा विभिन्न गुनासो र प्रश्नहरु बेलाबेलामा उठ्ने गरेकोले सो कार्यलाई कानुन बमोजिम गर्न लगाउने र गलत कार्यलाई नियन्त्रण गरिने बताउनुभयो ।