• ३ असार २०८१, सोमबार

पाँच महिनादेखि शिक्षक तलबविहीन

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ १३ गते । जुनीचाँदे गाउँपालिकाका शिक्षकले पाँच महिनादेखि तलब खान पाएका छैनन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सरकारले बजेटको व्यवस्था नगरेपछि यस्तो समस्या आएको हो । 

सङ्घीय सरकारको अनुदान दरबन्दीमा काम गरेका १२ जना शिक्षकले विगत पाँच महिनादेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन् । गाउँ तथा नगर सभामा जनप्रतिनिधिले शिक्षाको गुणस्तर कागजमा बढाउने लक्ष्य लिए पनि व्यवहारमा लागु नगर्दा शैक्षिक प्रणाली सुधार हुन सकेको छैन । श्रम अनुसारको पारिश्रमिक नपाएपछि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको शिक्षकले गुनासो गरेका छन् । 

जुनीचाँदे गाउँपालिका–६, मैपस्थित भानुभक्त हिमालय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लालबहादुर वलीले विगत पाँच महिनादेखि तलब नपाएपछि स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटमा गत वैशाख ६ गते निवेदन दिनुभएको छ । जुनीचाँदे गाउँपालिकाले सङ्घीय सरकारबाट बजेट कम आएका कारण समयमा शिक्षकलाई तलब दिन सकेको छैन ।

माध्यमिक विद्यालय सञ्चालन भई एउटा दरबन्दी नभएका विद्यालयलाई सङ्घीय सरकारको अनुदानमा दुई जना शिक्षकको व्यवस्थापनका लागि दिएको रकम स्थानीय तहले आफूखुसी शिक्षक राखेपछि समस्या आएको हो । यसरी १२ जना शिक्षकले तलब नपाएको बताइएको छ । 

२०७९ फागुन २९ गते व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको शिक्षण सिकाइ अनुदानको दरबन्दीमा खुला प्रतिस्पर्धाबाट गणित विषय शिक्षकमा छनोट भएका लालबहादुर वली र सोही विद्यालयमा विज्ञान विषयको शिक्षकमा २०७९ चैत ७ गते व्यवस्थापन समितिबाट नियुक्ति भएका शिक्षक धन थापा नियमित रूपमा विद्यालयमा हाजिर भएर काम गरिरहेका छन् । जुनीचाँदे गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दलबहादुर बुढाले नेपाल सरकारबाट आउने बजेट घटेर आएपछि तलब दिन नसकेको बताउनुभयो ।