• ७ असार २०८१, शुक्रबार

पेल्ने कोल सङ्ग्रहालयमै सीमित

blog

चखौरा सङ्ग्रहालयमा राखिएको कोल ।

गोकर्ण पौडेल

तुलसीपुर, जेठ १३ । तेल, चुक पेल्नका लागि बनाइएका कोल प्रविधिको विकाससँगै सङ्ग्रहालयमै सीमित हुन थालेका छन् । दंगीशरण गाउँपालिका चखौरामा रहेको थारु सङ्ग्रहालयमा त्यस्ता कोलहरू राखिएको छ । 

त्यहाँ कोल मात्रै होइन कुटानी, पिसानीमा प्रयोग हुँदै आएका ढिकी, जाँतो पनि राखिएको छ । ढिकी, जाँतोमा एक मुरी गहुँ, धान कुद्दा, पिस्दा सात, आठ घण्टा समय लाग्ने गर्दथ्यो तर विज्ञान प्रविधिको विकासले त्यति धान गहुँ कुटानी पिसानीका लागि बीस तीस मिनेटमै हुने गर्दछ ।

सङ्ग्रहालयको अवलोकनमा पुगेका तुलसीपुर ४ वनहरीका रमा परियार कोल नियाल्दै हुनुहुन्थ्यो । उहाँकै गाउँघरमा संरक्षणविहीन अवस्थामा रहेका कोल यसरी सङ्ग्रहालयमा देख्न पाउँदा यसको महत्व बारेमा जानकारी प्राप्त गर्नुभयो । पौडेलले भन्नुहुन्छ, हाम्रा लागि त खासै नयाँ कुरा रहेन तर गाउँघरका कोल, घट्ट भत्किदै, संरक्षणविहीन हुँदै गएको अवस्थामा यस्ता कोलको महत्व बारेमा आउने पुस्ताले समेत जानकारी पाउँछन् ।

विज्ञान प्रविधिको विकाससँगै सुगम क्षेत्रमा यस्ता घरेलु प्रविधि हराउँदै गएका छन् । अहिले कुटानी, पिसानी र पेलानीका लागि विद्युतबाट चल्ने मिल गाउँ गाउँहुँदै घर घरमा समेत राख्न थालिएको छ । पोषणविद् डा.अरुणा उप्रेती घरेलु प्रविधि ढिकी, जाँतो, घट्टबाट कुटिने, पिसिने अन्नको पोषणतत्व यथावत् नै रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हाम्रा पुर्खाहरुले विकास गरेका प्रविधि मानव स्वास्थ्य अनुकूल थिए अब प्रविधिको विकाससँगै ढिकी, जातो नै चलाउनुपर्छ भन्ने त होइन तर ती प्रविधिजस्तै तरिकाले अहिले विकास भएका प्रविधिबाट समेत कुटानी, पिसानी गर्न सकिन्छ । उहाँले ढिकी, जातो चलाउँदा मानव स्वास्थ्यका लागि विगतमा थेरापी उपचार हुने गरेका अहिले पनि उक्त उपचार पद्वतिमा त्यस्तै प्रविधिको विकास गरेको बताउनुभयो । ढिकी, जातो, खट्टा, कोलबाट कुटानी, पिसानी, पेलानी गर्दा अन्नको पोषणयुक्त भाग, चोक्करसहितको पीठो हुने गर्दछ । त्यस्ता खाद्यवस्तु मानवस्वास्थ्यका लागि निकै हितकर मानिन्छ ।

थारु संस्कृतिकर्मी अशोक थारुले कोल, ढिकी, जाँतोको छुट्टै महत्व भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ढिकी,जाँतो, कोलबाट उत्पादन गरिएका खाद्यवस्तु निकै स्वस्थकर मानिन्छन् । सांस्कृतिक दृष्टिकोणले समेत कोललाई पूजा गरिने गरिएको छ । कोलको पूजा नगर्दा रिसाएर गाउँ समाज अशान्त हुने जनविश्वास रहेको चौधरीले बताउनुभयो । तेल पेल्नु अघि कोलको पूजाआजा गर्ने गरिएको छ ।