• ७ मंसिर २०८१, शुक्रबार

बाबाको स्मृति

blog

घडीमा करिब रातको ११ बजिसकेको थियो । मधुरको मोबाइलमा घन्टी बज्यो । मधुर आफ्नो मोबाइल उठाउँदै स्नेहासँग कुरा गर्न थाल्यो ।

मधुर : के छ स्नेहा ?

स्नेहा: ठिक छ, तिम्रो नि ! अझै निदाएका छैनौ ?

मधुर: छैन, तिमी पनि त निदाएकी छैनौ नि ।

     स्नेहा र मधुर राति मोबाइलमा घन्टौँ कुरा गर्थे । उनीहरूको भेटघाट भएको पनि केही वर्ष बितिसकेको थियो । यी दुवै एकआपसमा निकै नजिकिएका थिए । डुल्नु, फिर्नु यिनीहरूको एउटा रमाइलो काम नै भइसकेको थियो । आज राति पनि उनीहरू लामो समय गफ गरी दुवै सुत्न गए ।

वैशाखको आधाउधी भइसकेको थियो । बेलुकीको ६ बजिसकेको थियो । गर्मी निकै बढेको थियो । वातावरण स्वच्छ थिएन । मधुर घरको सबैभन्दा माथि कौसीमा हावा खान बसिरहेको थियो । पश्चिमपट्टि सूर्य रातो न रातो देखिएको थियो । प्रदूषणकै कारणले यो सब भएको हो भनेर उसले विचार ग¥यो । बिस्तारै सूर्य डाँडामा अस्ताउन थाल्यो । उसले पालेको कुकुर पनि भुक्न थाल्यो । उसले कुकुरलाई चुप लाग् भन्यो । उसको मनमा शान्ति पनि त थिएन । वास्तवमा उसको मनमा पटक्कै शान्ति थिएन । मनमा असङ्ख्य कुरा खेलिरहेको थियो । कहिले स्नेहा उसको मानसपटलमा आउँथी भने कहिले के के कुरा आउँथ्यो । ऊ अधीर हँुदै गइरहेको थियो ।

केही दिनअघि उसको अनुहारमा सेतो दाग देखियो । एक ठाउँमा देखिएको सेतो दाग अन्यत्र पनि विस्तारै फैलिएर गयो । उसले डाक्टर पनि नदेखाएको हैन । डाक्टरकै सल्लाह अनुुसार औषधि सेवन गर्दागर्दै पनि उसको सेतो दाग मुखभरि फैलिरहेको थियो । ऊ आफू विरूप भइरहेको सम्झिन्थ्यो । अनि मनमनै दिक्क हुन्थ्यो । स्नेहा पनि मधुरको यो रोगबाट निकै चिन्तित थिई । ऊ पनि बारम्बार उसको सेतो दाग बढेको छ कि छैन भनेर हेर्थी । दाग भने घट्नुको सट्टा बढ्दै गइरहेको थियो ।

मधुरमा दिग्दारी बढ्दै गइरहेको थियो । यो रोगकै कारण स्नेहासँग बिछोड पो हुन्छ कि भन्नेमा मधुर चिन्तित हँुदै थियो । स्नेहा भने जस्तैसुकै रोग लागोस्, म जीवनभर तिमीलाई साथ दिन्छु भन्थी । स्नेहाप्रति मधुरको अगाध विश्वास र स्नेह त थियो तर उसले समाज सम्झिन्थ्यो । उसले स्नेहाका बाबुआमालाई पनि सम्झिन्थ्यो । के यस्तो कुरूप भएर मुखभरि सेतो दागैदाग भएकालाई उनीहरूले स्वीकार नगर्न पनि त सक्छन् भन्ने कुरा सधैँ मधुरको मनमा खेलिरहन्थ्यो ।

     हुन त रोग जहिले जसलाई पनि लाग्न सक्थ्यो । बिहेअघि र बिहेपछि लागेको रोगमा निकै अन्तर हुन्थ्यो । विवाहअघि लागेको रोगले बिहे भाँडिन पनि त सक्थ्यो तर विवाहपछि त्यही रोग लाग्यो भने जे जसो भए पनि स्वीकारयोग्य नै हुन्थ्यो । अझ सन्तान भइसकेपछि त त्यति असर नपार्ने हुन्थ्यो । यो सबै नै हाम्रा समाजका विशेषता थिए ।

     यहाँ यस्तै भइरहेको थियो । यो रोगले उनीहरूको मिलनमा बाधा पु¥याउन सक्थ्यो । स्नेहाको घरपरिवारबाट यस्तो दुबी रोग लागेकाका लागि अप्सरा जस्ती छोरी कसरी दिने ? भन्ने प्रश्नवाचक चिह्न खडा हुन्थ्यो नै । केही महिनापछि मात्र विवाहमा बाँधिने योजना बनाएको यो जोडीलाई यो रोग घाँडोका रूपमा तेर्सिन आइपुग्यो । स्नेहा भने निश्चय गर्थी– बाबुआमाबाट सम्बन्ध स्वीकार नभए पनि उसलाई कहिल्यै छोड्ने छैन । उनीहरूको दिन बोझिलो भई बितिरहेको थियो ।  

     वैशाखको दिन वसन्त ऋतु वातावरण मनमोहक नै थियो तर यी दुई प्राणीमा रमाइलो पल आउनै सकेन । सहरको बाटाका किनाराभरि भँगेरी फूल (जकरन्डा) निलै भई रुखभरि फुलेका थिए । बगैँचाभरि थरी थरीका फूल फुलेका थिए । बाहिर फूल फुलेर मनमोहक भए पनि स्नेहा र मधुरको मनमा फूल फुल्न सक्दै सकेन । सच्चा प्रेममा रूपको कुनै अस्तित्व हँुदैन । प्रेम त भावनामा आधारित हुन्छ भन्ने कुरा यी दुवैले बुझेका थिए । मन मिलेपछि जे पनि सम्भव हुन्छ भन्नेमा उनीहरू विश्वास गर्थे । 

स्नेहामा पनि बेचैनी बढ्दै थियो । आमाबाबुले छोरी स्नेहामा आएको चिडचिडाहटको अनुभव गर्न थाले । उनीहरू स्नेहा कसैको प्रेममा परेको कुरा पनि थाहा पाए । स्नेहाका आमाबाबुमा उनको बारेमा चासो र खोजीनिती बढ्दै गयो । बुझ्दै जाँदा त छोरी मुखभरि सेतै टाटैटाटा भएको केटाको प्रेममा परेको कुरा थाहा पाए । उनीहरू दुवै चिन्ताको भुभरीमा परे ।

एक दिन उनीहरूले आफ्नी छोरीसँग यसबारे कुरा गरे । कुरा गर्दै जाँदा दुवै आमाबाबुले मधुरसँगको सम्बन्धलाई छोरी तिमीले बिर्सनु पर्छ पनि भने । उनीहरूले अनेक कुरा भनेर छोरीलाई सम्झाए । आमाबाबु दुवैले यो सम्बन्ध स्वीकार गर्न इन्कार गरे । यसले गर्दा बाबुआमा र छोरीबिच मनमुटाव हुन थाल्यो । झन् पीरमाथि पीर पर्छ भने झैँ, स्नेहालाई आमाबाबुका व्यवहार र कुराले पीडामाथि पीडा थप्यो ।   

स्नेहा मधुरलाई झन् अब त एक पल पनि छोड्न चाँहदैनथी । फुर्सद भयो कि एकअर्कामा भेट गरी डुल्न जान्थे उनीहरू ।

एक दिनको कुरा हो, उनीहरू भ्रमणका व्रmममा एउटा डाँडाको टुप्पामाथि जाँदै थिए । डाँडाको टुप्पामा पुगेपछि त्यहाँ उनीहरूले एउटा सुन्दर कुटी देखे । कुटीबाहिर ठुलो पिपलको रुख थियो । त्यहीँनजिकै रहेको पिपलको रुखमुनि एक बाबा पलँेटी कसेर एउटा ठुलो ग्रन्थ हेर्दै थिए । उनीहरू बाबा भएतिरै गए । बाबाको आँखामा चमक थियो, निधारमा ज्योति थियो । बाबानजिकै गएर बाबालाई उनीहरूले अभिवादन गरे । बाबाले पनि मुस्कुराउँदै उनीहरूलाई नजिक रहेको आसनमा बस्न भने । बाबासँग जति कुरा गर्थे, उनीहरूलाई आनन्दको अनुभूति हँुदै गयो । स्नेहा र मधुर बाबाको समीप बस्दा आफ्ना मनका पीर सबै भुल्दै गए । बाबा उनीहरूतिर हेर्दै भन्दै थिए, “यो संसारमा मानिसले जन्म लिएपछि, कहिले सुख कहिले दुःख आइरहन्छ । जीवन सफल बनाउन भगवान्को ध्यान गर्नु पर्छ । तिमीहरूको अनुहारमा अहिले म चिन्ताको रेखा प्रस्ट देख्दै छु । तिमीहरूलाई म बुझ्दछु । तिमीहरूको चिन्ता दूर हुने छ, आगे हरि इच्छा ।” यति भनेर बाबा आफ्नो कुटीभित्र पसे ।

एकैछिनमा बाबा कुटीबाट बाहिर आए र मधुरलाई नेपाली कागजको पोको दिँदै भने, “मैले यहाँ जडीबुटी ल्याएको छु । तिमीले प्रत्येक दिन बिहान खाली पेटमा पानीसँग यो बुटी एक महिनासम्म खानू, तिम्रा यी सेता दाग सबै हराएर जाने छन् । आगे हरिको इच्छा ।” यति भनेर बाबाले नेपाली कागजमा पोको पारेको जडीबुटी मधुरलाई दिए ।

बाबाले उनीहरूको मनको चिन्ता कसरी थाहा पाए भनेर मधुर र स्नेहा छक्क परे । बाबालाई उनीहरूले केही रुपियाँ दिन खोजे तर बाबाले रुपियाँ लिएनन् । तिमीहरूको कल्याण होस् मात्र भने । उनीहरू त्यहाँबाट फर्किए । बाटाभरि उनीहरूको मनमा केही कुरा पनि खेलेन । मनमा शान्ति छाएको थियो । ओजस्वी बाबाको अनुहार, उनको बोलीको मिठासले उनीहरूको मनलाई पनि शीतलता प्रदान ग¥यो । 

बाबाले दिएको बुटीले एक हप्तामै असर देखाउन थाल्यो । दागहरू फिक्का हुँदै थिए । स्नेहा र मधुरमा विस्तारै खुसीको सञ्चार हुँदै थियो । एक महिना पुग्दा त बुटी पनि सकियो, मधुरको सेतो दाग पनि पूर्ण रूपले हट्यो । उनीहरू लगत्तै बाबाको दर्शनका लागि बाबा रहेको स्थानमा गए तर त्यहाँ बाबा भेटिएनन् । उनीहरूले बाबालाई भेट्ने धेरै प्रयास गरे तर बाबाको अत्तोपत्तो लागेन । त्यस ठाउँका मानिसले बाबाका धेरै चमत्कारका कुरा गरे । बाबा देख्दादेख्दै अलप भएको कुरा पनि बताए । त्यस ठाउँमा बाबाले स्थापनमा गरेको शिवलिङ्ग थियो । स्नेहा र मधुरले शिवलिङ्गको दर्शन गरे । बाबालाई सम्झँदै नमन गरेर फर्के । अलप भएका बाबाको स्मृतिमा उनीहरू त्यहाँ बारम्बार जान थाले ।