• १२ असार २०८१, बुधबार

तमोरमेवा जलविद्युत आयोजनाको शिलान्यास

blog

तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १० गते। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। बहु प्रतीक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको बिहीबार शिलान्यास गरिएको हो। 

जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाको तत्कालीन संविधानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गर्नुभएको छ। आयोजना निर्माणस्थल फुङ्लिङ नगरपालिका–१ तमोर नदी क्षेत्रको दगुर्नेमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य मादेनले विधिवत् शिलान्यास गर्नुभएको हो। 

तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले शिलान्यास भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताउनुभयो। प्रक्रिया प्रारम्भ गरेको लामो समयपछि कम्पनीले आयोजना निर्माणको काम थाल्नेगरी शिलान्यास गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो। उहाँकाअनुसार शिलान्याससँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ।

उहाँले आयोजना निर्माणको काम चरणबद्ध सुरु हुने पनि जानकारी दिनुभयो। आयोजनाका लागि विद्युत खरिद बिक्रीसहित सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माणको चरणसम्म आइपुगेको पनि उहाँले बताउनुभयो। उहाँकाअनुसार आगामी २०८५ साल असोजभित्र विद्युत उत्पादन गर्ने गरी निर्माणको कामलाई अघि बढाइने छ। 

आयोजनाको कूल लागत भने करिब साढे २४ अर्ब रुपियाँ अनुमान गरिएको प्रवर्द्धक कम्पनीले जनाएको छ। फुङ्लिङ नगरपालिकाको वडा १, २, ३ र ९, मिक्वाखोला गाउँपालिकाको वडा १, २ र ३, मेरिङ्देन गाउँपालिकाको वडा ३ तथा आठराई त्रिवेणी गाउँपालिकाको वडा २, ३ र ५ आयोजनाको प्रभावित क्षेत्रमा पर्दछन्। मेवा र तमोर दुवै खोला तथा नदीको पानी उपयोग गर्न दुईवटा मुख्य सुरुङ निर्माण गरिने र दुवै सुरुङको लम्बाइ करिब नौ किलोमिटरको हुने छ।

आयोजना शिलान्यास कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य मादेन, कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनलगायतले मन्तव्य राख्नुभएको छ। आफ्नो भनाइ राख्दै उहाँहरूले आयोजनाको काम समयभित्रै सम्पन्न गर्न सुझाव दिनुभएको छ। त्यस्तै आयोजना सञ्चालन गर्दा निर्माण कम्पनीले बहन गर्नुपर्ने दायित्वअन्तर्गत सामाजिक उत्तरदायित्व, शेयर तथा स्थानीयलाई रोजगारी दिने विषयमा कन्जुस्याइँ नगनै पनि वक्ताहरूले सुझाव दिनुभएको छ। 


तमोर–मेवा जलविद्युत आयोजना उत्पादन गर्न लागिएको तमोर नदी। तस्बिर : चन्द्र पन्दाक।