• २ असार २०८१, आइतबार

आगलागी पीडितसँग सांसद भण्डारीको भेट

blog

आगलागी स्थलको निरीक्षण गर्ने क्रममा साांसद भण्डारी लगायत। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ १० गते। तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको सदरमुकाम दमौलीको मेनचोक, फलफूल लाइनमा आगलागीले भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण गर्नुभएको छ। 

निरीक्षणको क्रममा क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ।

आगलागी पीडितलाई सांसद भण्डारीले आफू पीडितको साथ रहेको र आगोले पसल जले पनि मन नजलाउन आग्रह गर्नुभयो। 

गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गण्डकी प्रदेश सरकारको तर्फबाट दिने राहतको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला विपद् व्यवस्थापन समितिले सङ्घ तथा प्रदेश सरकारलाई राहत रकम उपलब्ध गराउन सिफारिस गर्ने बताउनुभयो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोराले क्षतिको विवरण सङ्कलन गर्ने काम पुरा भएको जानकारी दिनुभयो। 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई परिवार पाल्न, बैङ्कको किस्ता तिर्न समस्या भएकोले सोही ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग भएकोले सो पुरा गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईका सभापति शुकनारायण मल्ल लगायतले व्यवसायीले व्यवसायबाट विस्थापित भए भने पीडामाथि थप पीडा हुने भएकोले त्यसमा सबै गम्भीर हुनु पर्ने बताउनुभयो।

आगलागी पीडित संघर्ष समितिका संयोजक केहरसिंह आले बादलले आगलागी भएको स्थलको तत्काल सरसफाइ गरेर पुनर्निर्माणका साथै पसल सुचारु गर्न माग राख्नुभएको थियो। पीडित प्रतापसिंह अधिकारीले सांसदहरू चासो राखेर पीडा बुझ्नको लागि आउनु भएकोले पीडितको माग पुरा हुने विश्वास लागेको बताउनुभएको थियो। 

जिल्ला समन्वय समितिका सदस्य डोलराज सुनारले समन्वयले व्यवसायीको समस्या समाधान गर्न पहल थालिसकेको बताउनुभयो। व्यास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा क्षति मूल्याङ्कन समितिका संयोजक अनुप रानाले २४ वटा सटर जलेर ध्वस्त हुँदा छ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण सङ्कलन भएको जानकारी दिनुभयो।