• २ असार २०८१, आइतबार

‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’

blog

काठमाडौँ, जेठ १० गते । प्रा.डा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले  त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । 

१२ वर्षदेखि उहाँ नोभल मेडिकल कलेजमा वरिष्ठ स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । समाजसेवा गर्ने उद्देश्यले उहाँ बेला–बेला स्वास्थ्य शिविरमार्फत जनतामाझ जाने गर्नुहुन्छ । हालै उहाँसहित १९ जनाको टिमले १५ दिन कर्णाली र सुदूरपश्चिमका विभिन्न दुर्गम जिल्ला पुगी स्वास्थ्य शिविर सम्पन्न गरी फर्कनु भएको छ ।  

आफू पहिले एमबिबिएस पढ्ने बेला पनि डोटी, डडेलधुरा, कैलाली जिल्ला अस्पतालमा बसेर काम गरिसकेको बताउनुभयो । स्वास्थ्य शिविरका लागि कर्णाली र सुदूरपश्चिम रोजेको डा. घिमिरे बताउनुहुन्छ ।

शिविरमा धेरै पुरुषको तुलनामा महिला स्वास्थ्य समस्या लिएर जाँच गर्न आउने गरेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य समस्या नेपालमा जहाँ गए पनि पुरुषभन्दा महिलामा बढी स्वास्थ्य समस्या लिएर आउने गर्छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि त्यही अवस्था पाएँ ।’ 

उहाँका अनुसार शिविरमा ७० प्रतिशतभन्दा बढी महिला र २० देखि २५ प्रतिशत मात्र पुरुष शिविरमा आएका थिए । चिकित्सक र स्वास्थ्य संस्थाको अभावले शिविर गएको बेला दैनिक सात–आठ सयदेखि एक हजारसम्म बिरामी आएको उहाँको भनाइ छ । 

उहाँका अनुसार अन्य ठाउँका महिलाको भन्दा त्यहाँका महिलाको पीडा फरक रहेको उहाँले जिकिर गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘अन्य ठाउँका महिलाभन्दा कर्णाली र सुदूरपश्चिमका महिलाको पीडा भिन्न पाएँ । त्यहाँका महिला सामाजिक, शिक्षा आर्थिक रूपमा पछाडि हुनुका साथै जनचेतनाको अभाव छ ।’

त्यहाँका महिलाको स्वास्थ्य अवस्था पनि विकराल रहेको उहाँले सुनाउनुभयो । स्वास्थ्य संस्था र विशेषज्ञ चिकित्सकको अभावले त्यहाँका महिलाले गर्भावस्थामा अकालमै मृत्युवरण गर्न बाध्य छन् । 

शिविरमा प्रायः महिलाको गन्हाउने सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सर, अत्यधिक रक्तस्राव हुने, पाठेघर खस्ने लगायतका समस्या लिएर आएको उहाँले बताउनुभयो । 

सानै उमेरमा विवाह गर्ने चलनले आमा र बच्चाको स्वास्थ्य पनि कमजोर हुने उहाँको भनाइ छ । साथै त्यहाँमा ९० प्रतिशत बिरामी एन्जाइटीको सिकार भएको उहाँले बताउनुभयो । साथै गर्भावस्थामा पोषणको कमी रहेको उहाँले बताउनुभयो । 

कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लाका महिलामा देखिएका स्वास्थ्य समस्याका विषयमा केन्द्रित भई वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. सिता घिमिरे पोखरेलसँग गरिएको भिडियो संवाद:

भिडियोमा : मनोजरत्न शाही/केशब गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।