• २ असार २०८१, आइतबार

बुद्ध जयन्तीकै दिन मन्दिरमा हजारौँको बली

blog

लहान–१३ र २४ को सिमानामा रहेको लाटी बौकी देवी मन्दिरमा बुद्ध जयन्तीको दिन भक्तजनहरूले बोकाको बलि चढाउन मन्दिर परिसरमा । तस्बिर : जीवछ

जीवछ यादव

लहान, जेठ १० गते । शान्ति र अहिंसाको लागि मनाइने बुद्धजयन्तीको दिन लहान–१५ ढेडना राजदेवी मन्दिरमा हजारौँको सङ्ख्यामा बली दिइएको छ । बुद्ध जयन्ती चण्डी पुर्णिमाको अवसरमा ठुलो मेला र हजारौँको बली चढाइने राजदेवी मन्दिरमा यस वर्ष २० हजारको सङ्ख्यामा बलि चढाइने राजदेवी संरक्षण समितिले जनाएको छ । 

गत वर्ष सत्र हजार बलि प्रदान गरिएको थियो । बिहान ८ बजेदेखि बलि दिन सुरु गरिएको हो । बलिमा बोका र परेवाको बलि दिने गरिन्छ । २०५४ सालदेखि स्थानीयहरूले मात्रै बलि चढाउने राजदेवी मन्दिरमा २०५४ सालदेखि बाह्य भक्तजनहरूको चाप बढ्दै जान थालेको हो । प्रतिवर्ष तीन हजारको दरले बलि सङ्ख्या थप्दै गइरहेको मन्दिर संरक्षण समितिका सचिव वीरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार राजदेवी मन्दिर क्षेत्रमा सात विघाहा जमिनमा मन्दिरको विस्तार भइरहेको छ । यस वर्ष भारतको उडिसा उत्तर प्रदेश विहारबाट समेत ठुलो सङ्ख्यामा सात दिन अघिदेखि भक्तजनहरू आइरहेका छन् । 

मन्दिर परिसरमा धर्मशाला निर्माणको लागि पूर्व कानुन मन्त्री तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठको पहलमा १० लाख प्रदेश सभाका रूपमा माननीय क्रमशः रोजेन्द्र प्रसाद चौधरी र लगनलाल चौधरीले २५ र १२ लाख गरी ५७ लाखको लागतमा धर्मशाला निर्माण कार्य भइरहेको छ । शनिवार आउने भक्तजनहरूले चढाउने भेटीबाट वार्षिक चालिस लाख आम्दानी भइरहेको संरक्षण समितिका सचिव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक आम्दानीको ६० प्रतिशत मन्दिरको विकासमा र ४० प्रतिशत सामाजिक तथा मानवीय सहयोगमा खर्च भइरहेको छ । 

सहरी सघन विकास कार्यक्रमबाट लहानको मुख्य चोकखेखि दस मिलिमिटर मन्दिर परिसरसम्म पिच सडक निर्माण र खुटी खोलामा पुल निर्माण भएपछि मन्दिरसम्म भक्तजनहरूलाई जान आउन सजिलो भएको छ । यस वर्ष राजदेवी मन्दिरदेखि उत्तरमा राजदेवी दह निर्माणको कार्य अघि बढाएको छ । लहान नगरपालिकाले यस वर्ष चारसय स्वयम सेवक खटाएर प्रत्येक स्वयम सेवकलाई रातो रङको भेष्ट दिएको नगरप्रमुख महेश प्रसाद चौधरीले भन्दै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा राजदेवी मन्दिरको महिमा विस्तार हुँदै जान थालेकोले लहान नगरपालिकाले यसको विकासको लागि थप बजेट विनियोजन गर्न लागेको बताउनुभयो । 

यता लहान–१३र २४ को सिमानामा रहेको पक्क टोलमा लाटी बौकी मन्दिरमा यस वर्ष सयौँ बलि प्रदान गरिएको छ । यस मन्दिर सम्म जान आउन बाटो निर्माण र मन्दिर क्षेत्रको विकासको लागि स्थानीयहरूले माग गरेका छन् । त्यस मन्दिरको विकासको लागि स्थानीय निर्जला राउतले पचास हजार चनदा दिएको स्थानीय सुभाष कोइरालाले जानकारी दिनुभयो । 

राजदेवी मन्दिर र लाटी बौकी देवी स्थानमा भक्तजनहरूले भाकल गरेपछि मनोकामना शान्ति सुख प्राप्त हुने भएकोले महिमा विस्तार हुँदै गएको छ ।