• २ असार २०८१, आइतबार

हाउडीमा जिप दुर्घटना : सात घाइते, उद्धारमा समस्या

blog

दुर्घटनाका घाइते विद्यालयमा राखेर प्राथमिक उपचार गरिँदै । तस्बिर सौजन्य : कर्णबहादुर केसी

प्रेमराज सिम्खडा
कालीकोट, जेठ १० गते । 
कालीकोट जिल्लाको हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका आउँदै गरेको बोलेरो वडा नं ६ को हाउडी खोलामा दुर्घटना भएको हो । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै रहेका छन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २२ वर्षीय विष्णु शाही, १८ वर्षीया पूजा शाही, २३ वर्षीय देउके आचार्य, ३३ वर्षीय ऐन खत्री, ६० वर्षीय तीर्थ खत्री, अन्दाजी ४० वर्षीया महिला र चालक दैलेख चामुण्डा बिन्दासैनी नगरपालिका २५/२६ वर्षीय दीपेन्द्र चौलागाईँ हुनुहुन्छ ।

दुर्घटनामा परेका अधिकांशको अवस्था गम्भीर रहेको वडा नं. ६ का पूर्व वडा अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो । उहाँले घाइतेहरूको एक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको र हेलिकोप्टरको पर्खाइमा रहेको बताउनुभयो ।

एमाले नेता समेत रहनुभएका पूर्व अध्यक्ष खत्रीले जिल्ला प्रशासनसँग कुरा भए नि हेलिकोप्टर आउन ढिलाइ भएको बताउनुभयो ।  

उता जिल्ला प्रहरी कार्यालय कालीकोटले घटनास्थलमा आफ्नो टोली भर्खर पुगेर घाइतेको उद्धारमा लागेकाले घटनाको विवरण लिन नपाएको जानकारी दिएको छ । प्रहरीले आफूहरू घाइतेको उद्धारमा रहेको र जिल्लाको टोलीले घटना विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

उद्धारमा कठिनाइ

दुर्घटना परेका घाइतेहरूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएकाले हेलिकोप्टर आउने कुरा निश्चित नभएको बताउनुभयो । स्थानीय तहले आर्थिक दायित्व लिने पत्र नपठाएकाले पनि समस्या भएको छ ।

नेपाली सेनाले स्थानीय तहलाई विश्वास नगर्ने र गृहमन्त्रालयले सुत्केरी उद्धार जस्तो छिटो उद्धारको प्रक्रिया नहुने हुँदा पनि घाइतेहरूले उपचार नपाएर मर्ने खतरा बढिरहेको छ । आज बिदा भएकाले कसैसँग सम्पर्क गर्न पनि कठिन भएको प्रजिअ नेपालीले बताउनुभयो । यातायात समितिले रातो नम्बर भएका गाडीलाई दिनमा चल्न नदिने भएकाले राती आउनु परेकाले चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने स्थानीयको भनाइ छ ।