• २ असार २०८१, आइतबार

राहत दिने रणनीति बनाउँदै नार्क

blog

काठमाडौँ, जेठ १० गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानको खेतबालीमा नोक्सान पु¥याउने बाँदर तथा अन्य वन्यजन्तु व्यवस्थापनका लागि राष्ट्रिय नीति बनाउने भएको छ । 

नार्क अन्तर्गतको राष्ट्रिय इन्जिनियरिङ अनुसन्धान केन्द्रको पहलमा राष्ट्रिय नीतिको मसौदा तयार गर्न लागेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । बाँदर तथा अन्य वन्यजन्तु किसाननका लागि समस्याकै रूपमा आएको हुनाले यसलाई राष्ट्रिय रूपमै समस्या समाधान गर्न नीति बनाउन लागिएको उहाँले बताउनुभयो । 

बाँदर, हात्ती, निलगाई, बँदेल जस्ता जनावारले पछिल्लो समय किसानको खेत बालीमा ठुलो क्षति पु¥याउँदै आएको र यो राष्ट्रिय समस्याका रूपमा सिर्जना भएको हुनाले रणनीति ढङ्गबाट नार्क अगाडि बढेको उहाँले बताउनुभयो । राष्ट्रिय इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख श्रीमत श्रेष्ठले बाँदरलगायत अन्य वन्यजन्तु धपाउन तथा व्यवस्थापन गर्न विभिन्न विकल्प अपनाइएको छ तर त्यसले स्थायी समाधान नदिएका कारण अब रणनीतिक ढङ्गबाट नै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

मध्यपहाडी क्षेत्रको पूर्वदेखि पश्चिमसम्म बाँदरले ठुलै आतङ्क सिर्जना गरेको छ, किसानलाई उठिबास नै बनाएका कारण यसलाई कसरी स्थायी रूपमा समाधान गर्न सकिन्छ त्यसका बारेमा सम्बन्धित विज्ञसँग सल्लाह गरेर राष्ट्रिय नीतिको मसौदा तयार गर्ने बताउँदै उहाँले त्यसपछि नीति निर्माणको तहमा छलफल गरी टुङ्गो लगाउने बताउनुभयो । यसका लागि पहिलो चरणमा कृषि विभाग, पशुसेवा विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, वन मन्त्रालयको प्रतिनिधिसँग छलफल गरी अध्ययनको कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो । 

बाँदर व्यवस्थापनका लागि अध्ययन गर्न नार्कका केही वैज्ञानिक तथा सांसदहरू भारत गई अध्ययन गरेर पनि फर्केका छन् । अब बन्दुक पड्काएर, थाल ठडाएर, हारहुर गरेर यो बाँदर तथा बँदेलको आतङ्क समाप्त हुने देखिएको छैन, जङ्गलमा व्यवस्थित गर्ने, बासको व्यवस्था गर्ने वा कुनै औषधीको व्यवस्था गर्ने, त्यसलाई मार्ने कि के गर्नेलगायतका विषयमा छलफल गरी स्थायी समाधानका लागि नीति बाउने उहाँले बताउनुभयो ।