• १४ असार २०८१, शुक्रबार

थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनको प्रतिस्पर्धामा

blog

अमरराज नहर्की

तनहुँ, असार ८ गते । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल हुनु भएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रवार छनोट हुनु भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।  

यो प्रतियोगितामा विजेतालाई २५ हजार डलर नेपाली करिब २७ लाख नेपाली रुपियाँका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ । नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटेलमा काम गर्दै आउनुभएका नेपाली सेफ थापा हाल बेलायतमा बस्दै आउनुभएको छ । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताउनु भएका सेफहरूबिच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

झन्डै ८९ जनामध्येबाट पाँचमा उत्कृष्टमा छनोट हुनुभएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुहुन्छ । थापाले भन्नुभयो, “सबैको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा विजेता बन्न मलाई अझै धेरै भोट जरुरी भएकोले सहयोगको अपेक्षा गरेको छु ।’   थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड जित्नुभएको थियो । चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान दिनु भएको छ । नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुनुहुन्छ । थापा हाल आफ्नो जन्मभूमि तनहुँमा आउनु भएको छ । थापा कुक क्षेत्रका अन्तर्राष्ट्रिय बजारमा ठुलो माग भएको र त्यसमा राम्रो पारिश्रमिक पाइने बताउनुहुन्छ ।