• १४ असार २०८१, शुक्रबार

एक दिनमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा

blog

चन्द्रपुर सरकारी अस्पतालको क्षमताविहीन एक्स–रे उपकरण । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, असार ८ गते ।
 रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा ।

नगरपालिकाले अधिक क्षमता भएको एक्स–रे उपकरण उपलब्ध गराउन नसकेका कारण डेढ दशकदेखि प्रयोग हुँदै आएको कम क्षमताको उपकरणले दश वटाभन्दा बढी एक्स–रे गर्न नसकेको हो ।

दैनिक एक सय ५० जनाभन्दा बढी बिरामीको स्वास्थ्य जाँच हुने उक्त अस्पतालमा दश जनाभन्दा बढी बिरामीको एक्स–रे नहुने भएका कारण उक्त सेवा लिन अन्यत्र जानु पर्दा सेवाग्राही मर्काका परेका छन् । 

करिब डेढ दशकदेखि प्रयोग हुँदै आएको उक्त मेसिन १०० ‘एमए’ (मेघा एम्पिएर) को भएका कारण बढीमा दश वटा मात्रै एक्स–रे गर्न सकिने अस्पतालका डा. अशोककुमार यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालको बेडमा रहेका हिँडडुल गर्न नसक्ने बिरामीका लागि बेडसम्म पुर्‍याई आकस्मिक सेवा प्रदान गर्न प्रयोग हुने उक्त मेसिन कम क्षमताको भएका कारण बढी सङ्ख्यामा एक्स–रे गर्दा तातिने र सही रिपोर्ट नआउने वा बन्द नै हुने गर्छ । 

मेरुदण्डको समस्या लिएर अस्पताल पुग्नु भएका चन्द्रपुर–६ का ज्येष्ठ नागरिक शङ्कर माझीले  अस्पतालमा एक्स–रे सेवा पाउन सक्नुभएन । उहाँ एक्स–रेका लागि अन्यत्र जान बाध्य हुनुभयो । अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीमध्ये बढीमा दश जनाले मात्रै एक्स–रे सेवा पाउने भएपछि अन्य बिरामी अन्य अस्पतालमा महँगोमा एक्स–रे गराउन बाध्य छन् । स्वास्थ्य परीक्षण एकातिर एक्स–रे अर्कोतिर हुँदा ओहोरदोहोरले बिरामीलाई झनै समस्या हुने सेवाग्राही नै बताउँछन् । 

अस्पतालका ‘रेडियोग्राफर’ दीपेन्द्र झाले उक्त मेशिनबाट मेरुदण्डको एक्स–रे नहुने बताउनुभयो । उहाँकाअनुसार हात खुट्टा भाँचिएका र छातीको सामान्य एक्स–रे मात्र गर्न मिल्ने उक्त मेसिनबाट रेडियसन अर्थात् विकिरण अधिक प्रवाह हुने भएकोले जोखिमयुक्त रहेको छ । एक्स–रे गर्दा रेडियोग्राफरको सुरक्षाका लागि पहिरिने ‘एप्रोन’ समेत अस्पतालमा नभएको गुनासो गर्नुभयो । 

यता चन्द्रपुर नगरपालिकाको उदासीनताका कारण अस्पतालमा स्वास्थ्य सेवा निष्प्रभावी बन्दै गएको नगरवासीको गुनासो छ । यस सम्बन्धमा जानकारी लिन प्रयास गर्दा नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले सम्पर्कमा आउन चाहनु भएन । नगर प्रमुख अस्पतालका पदेन अध्यक्ष हुनुहुन्छ ।