• १४ असार २०८१, शुक्रबार

रासससँगको समन्वयमा भोजपुरीमा समाचार सम्प्रेषण गर्ने वीरगञ्ज महानगरको घोषणा

blog

फाइल तस्बिर

वीरगञ्ज (पर्सा), असार ८ गते । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग समन्वय गरेर भोजपुरी भाषामा समाचार ‘बुलेटिन’ प्रकाशन  गर्ने घोषणा गरेको छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज यहाँ भएको १५औँ नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय समाचार समितिबाट भोजपुरी भाषामा पनि समाचार बुलेटिन प्रकाशन एवम् प्रसारण गरिने बताउनुभयो । “भोजपुरी समाचार प्रकाशनलाई प्राथमिकतामा राखेर त्यसलाई नीति तथा कार्यक्रममा नै समावेश गरिएको छ,” उहाँले भन्नुभयो । महानगरले आगामी आवको नीति तथा कार्यक्रममा आजीवन पत्रकारिता गरेका अग्रज पत्रकारलाई निवृत्तिभरणको व्यवस्था गर्ने घोषणा गरेको छ ।

“सञ्चारगृह र पत्रकारहरूलाई विपतका बेला आवश्यक सहयोग उपलब्ध गराउन विपत् राहत कोषको स्थापना गरिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “महानगरमा दर्ता तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमका लागि समानुपातिक ढङ्गले वितरण हुने लोककल्याणकारी विज्ञापनको व्यवस्थालाई निरन्तरता दिइनेछ ।” महानगरले नेपाल पत्रकार महासङ्घ, पर्साको संस्थागत विकासका लागि पनि सहयोग गर्ने जनाएको छ । रासस