• १४ असार २०८१, शुक्रबार

शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने

blog

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर:रासस

पाटन (ललितपुर), असार ८ गते । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।

पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित ‘स्मृतिमा पद्मरत्न तुलाधर’ पुस्तक विमोचन तथा व्यक्तित्व सम्मान कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भाषिक, साहित्यिक आन्दोलनमा मात्रै नभएर नेपाली राजनीतिको निरंकुशताविरुद्धको आन्दोलनमा पनि तुलाधरको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । नेवा समुदायका अग्रज, मानवअधिकारवादी व्यक्तित्व, नेपालभाषा मङ्का खलका पूर्वअध्यक्ष तुलाधरको व्यक्तित्व समेटेर उक्त पुस्तक प्रकाशित गरिएको हो ।

“तुलाधरको बहुआयामिक व्यक्तित्व र प्रतिभाबाट धेरै कुरा सिक्न सकिन्छ, नेपाली समाजमा लोकतान्त्रिक उपलब्धि हासिल गर्न तुलाधरले गर्नुभएको योगदान अतुलनीय छ । उहाँ साहित्यकार, सिद्धहस्त पत्रकार, लेखक तथा जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । उहाँको योगदानलाई सम्मान गर्दै उहाँले देख्नुभएका सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनको योद्धाका रूपमा समन्वयकारी भूमिका खेल्ने र सहकार्यको सूत्राधार गर्ने व्यक्तित्व तुलाधर हुनुहुन्थ्यो ।” 

उपप्रधानमन्त्री श्रेष्ठले पद्मरत्नसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको स्मरण गर्दै यस्ता सुयोग्य पात्रको सम्झानमा पुस्तक प्रकाशन गरेर उत्कृष्ट कार्य गरिएको बताउनुभयो । पुस्तकले एउटा इतिहासलाई जीवन्त बनाइराख्नुका साथै उहाँहरूको महत्त्वपूर्ण योगदानको स्मरण सदैव भइरहेको उहाँको भनाइ छ । “पद्मरत्न र दमननाथ संविधानसभाको प्रवक्ता हुनुहुन्थ्यो, उहाँहरूकै कारण आज यो व्यवस्थाका लागि सहज भएको छ, अब प्राप्त उपलब्धिलाई माध्यम र साधन बनाएर समृद्धि हासिल गर्न सकेमा समृद्ध मुलुक निर्माण हुनेछ । उहाँहरूले नेपाली समाजको परिवर्तनका लागि दिनुभएको योगदान महत्त्वपूर्ण छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । 

ढुङ्गाना र तुलाधरले शान्ति प्रक्रियामा पुर्‍याउनुभएको योगदान बिर्सन नसकिने भन्दै उहाँले सङ्क्रमणकालीन न्याय यथाशीघ्र पूरा गरिने बताउनुभयो । कार्यक्रममा पद्मरत्न तुलाधरसँग सहकार्य, भाषा साहित्यको योगदानमा लाग्ने, राजनीतिक मानवअधिकार आन्दोलनमा काम गर्ने सहकर्मी पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत एवम् पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, भाषिक आन्दोलनका अग्रजद्वय वीरसिंह कंसाकार र नर्मदेश्वर प्रधानलाई सम्मान गरिएको थियो ।

पूर्वसभामुख ढुङ्गानाले तुलाधरको अभावमा शान्ति प्रक्रियासँग सम्बन्धित काम पूरा हुन नसकेको बताउँदै उहाँ भएको भए हालसम्म सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुगिसक्ने थियो होला भन्नुभयो । “अब देशको राजनीतिलाई धेरै जिम्मेवारीपूर्ण बनाउनुपर्नेछ, नेपाललाई उन्नत राष्ट्र बनाउने नीतिअनुसार छिमेकीप्रतिको नीति र विश्वप्रतिको नीति हुनु आवश्यक छ । अहिलेका नेताहरूले नैतिक धरातलमा उभिएर राष्ट्र र जनताका पक्षमा काम गर्नुपर्छ । उहाँ (तुलाधर)सँग नैतिक धरालत थियो, उहाँको जीवनीबाट सबैले नैतिकताको पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वराजदूत तथा पूर्वसांसद श्रेष्ठले तुलाधरसँग भाषा र पत्रकारिताको माध्यमबाट पहिलो सम्बन्ध बनेको स्मरण गर्दै तुलाधर एउटा जात वा समुदायको मात्रै नेता नभएको बताउनुभयो । “उहाँ नेपाली भाषाको पनि सम्पादक हुनुहुन्थ्यो । उहाँ राजनीतिक व्यक्तित्व मात्रै हैन देशभक्त पनि हुनुहुन्थ्यो, उहाँले साहित्य र शान्ति प्रक्रियामा विशेष योगदान पुर्‍याउनुभएको छ”, उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तुलाधरको योगदानलाई जीवन्त राख्न गुठीले गर्ने हरेक कार्यक्रममा महानगरका तर्फबाट सहयोग गर्न तत्पर रहेको बताउनुभयो । 

काठमाडौँ महानपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले तुलाधरले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै गुठीले आगामी दिनमा रचनात्मक र सिर्जनात्मक काम गर्ने विश्वास रहेको बताउनुभयो । डेनमार्कका लागि प्रस्तावित राजदूत, गुठीका उपाध्यक्ष तथा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरले बुवाले जनताको मुक्तिका लागि जीवन अर्पण गर्नुभएकामा गौरवान्वित बनाएको बताउनुभयो । भाषा, साहित्य तथा राष्ट्र हितका लागि उहाँले पुर्‍याउनुभएको योगदान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन गर्न उपयोगी हुने ठानेर पुस्तक प्रकाशन गरिएको उहाँको भनाइ छ । रासस