म्याग्दी समाचारदाता
म्याग्दी, माघ २ गते । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहमा करिब चार सय व्यक्ति जिल्ला भित्रिँदा एक हजार तीन सयभन्दा बढी व्यक्ति जिल्लाबाट बाहिरिएका छन् ।
म्याग्दीका स्थानीय तहमा सन् २०२४ मा ११३ परिवारका ४०९ जना भित्रिँदै गर्दा ४१६ परिवारबाट एक हजार २६० जना बाहिरिएका हुन् । जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै धवलागिरि गाउँपालिकाबाट १३६ परिवारका ५६० जना बसाइँसराइ गरेर जिल्लाबाहिर गएका छन् । त्यस्तै बसाइँसराइ गरेर आउनेमा बेनी नगरपालिकामा ५० परिवारका १६० जना छन् । बेनी नगरपालिकाका पञ्जीकरण शाखाका सरस्वती ढकालका अनुसार सन् २०२४ मा ६१ परिवारका १७९ जना नगरपालिका क्षेत्रबाट बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्कले देखाएको छ ।
धवलागिरि गाउँपालिकाका पञ्जीकरण शाखाका तेजेन्द्र पुनका अनुसार अघिल्लो वर्षको तथ्याङ्कले गाउँपालिकाभित्र आउनेभन्दा बाहिरिने परिवारको सङ्ख्या झन्डै १० गुणा बढी देखिन्छ । समग्र जिल्लाको अवस्था हेर्दा भने बसाइँसराइ गरेर आउनेभन्दा बाहिर जाने कुल सङ्ख्या तीन गुणाभन्दा पनि बढी देखिएको छ । सेवा, सुविधा र पहुँचका लागि बसाइँसराइ गर्ने परम्परा नै हो । यही परम्परा नै निरन्तर भएको जस्तो देखिएको भए पनि बसाइँसराइको सङ्ख्यात्मक हिसाबले हेर्दा धेरै अन्तर रहनु समग्र जिल्लाले नै सोच्नुपर्ने अवस्था भएको बेनीका नगरप्रमुख सुरत केसीको भनाइ छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पञ्जीकरण शाखाका खड्कप्रसाद पुनका अनुसार १० परिवारका ३९ जना आउँदा ३५ परिवारका ११७ जना जिल्लाबाहिर गएका छन् । रघुगङ्गा गाउँपालिकाका पसुता पुनका अनुसार २४ परिवारका ६४ जना बसाइँ सरेर गएका छन् भने चार परिवारका १२ जना जिल्लाभित्र आएका छन् । मङ्गला गाउँपालिकाका लेकनाथ सापकोटाका अनुसार २० परिवारका ७७ जना भित्रिँदा ५५ परिवारका १७१ जना बसाइँ सरेर अन्यत्र गएका छन् । मालिका गाउँपालिकाकी लालकुमारी रोकाका अनुसार १५ परिवारका ६२ जना आउँदा ४० परिवारका १६९ जना बसाइँ सरेर गएका छन् ।