• २ असार २०८१, आइतबार

बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति

blog

काठमाडौँ, जेठ १० गते । छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्धित विषयमै भर्ना दिने निर्णयको पत्र मङ्गलबार सरकारलाई पठाएको हो । 

चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र तीन जना बिडिएस गरी २२ जनाको नाम बङ्गलादेशमा सिफारिस गरिएको थियो । 

चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश सरकारलाई ती विद्यार्थीको नाम पठाएको थियो तर बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई पठाएको विद्यार्थीको अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको थियो । उक्त सूची सार्वजनिक भएपछि नेपालबाट छानिएका तर बङ्गलादेश सरकारले नाम नपठाएका विद्यार्थी तनावमा परेका थिए । 

के कारणले यस्तो भयो भन्ने विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग जानकारी लिएको थियो ।

सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएपछि मन्त्री श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गर्नुभएको थियो । यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ समेत पठाएको थियो । उक्त कूटनीतिक नोटको जवाफमा बङ्गलादेशले छुटेका आठ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोटमार्फत जानकारी दिएको मन्त्रालयका सहसचिव कमल पोखे्रलले जानकारी दिनुभयो तर शिक्षा मन्त्रालयले बङ्गलादेशमा अध्ययन गर्न सिफारिस गरेर पठाएका २२ जना विद्यार्थीमध्ये दुई जनाले अनलाइन फाराम नभरेका कारण ती कोटा खेर गएको पोख्रेलले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले विद्यार्थीको नाम सिफारिस गरेपछि ती विद्यार्थी आफैँले बङ्गलादेशमा अध्ययनका लागि अनलाइन फाराम भर्नुपर्ने व्यवस्था भए पनि दुई जनाले फाराम नै नभरेको जानकारी पाइएको मन्त्रालयले जनाएको छ । फाराम नभर्नेमध्ये एमबिबिएस र बिडिएस अध्ययनमा सिफारिस भएका विद्यार्थी हुन् । शिक्षामन्त्री श्रेष्ठले बुधबार नै सम्बन्धित विद्यार्थीलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययन सकाएपछि स्वदेशमै फर्केर सेवा गर्न अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।