• २ असार २०८१, आइतबार

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

blog

२५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रधानमन्त्री निजी सचिवालय

लुम्बिनी, जेठ ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गौतमबुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबिच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ।

२५६८ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताउनुभयो। 

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबिच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ।”

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताउनुभयो।

 

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोस प्रेरणादायी भएको बताउनुभयो। 

नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गर्नुभयो। 

“हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ।”

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस-सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पार्नुभयो। 

“हाम्रा जनताको आकाङ्क्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उपलब्ध अवसरहरूको सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीको लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ।”