• १५ वैशाख २०८३, मङ्गलबार

नागरिकको अवस्था बदलिएन,अब कार्यशैली सुधारौँ : मुख्यमन्त्री बानियाँ

blog

हेटौँडामा आयोजित समसामयिक शासन प्रणालीसम्बन्धी नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल

हेटौँडा, वैशाख १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति निर्माण गर्ने राजनीतिक नेतृत्व र त्यसलाई कार्यान्वयन गर्ने निजामती प्रशासन दुवै जनताप्रति पूर्ण जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएपी) अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामबारे हेटौँडामा मङ्गलबार आयोजित ‘नीति संवाद कार्यशाला’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले राजनीतिक नेतृत्व र निजामती प्रशासन दुवैले जनतालाई इमानदारपूर्वक सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

सङ्घीय अवधारणा र संरचनाकै कारण विश्वका धेरै देशले विकासमा गति लिएको चर्चा गर्दै उहाँले नेपालमा पनि असल नेतृत्वले नयाँ मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । 

"नेतृत्व निडर हुनु आवश्यक छ," उहाँले भन्नुभयो, "जनप्रतिनिधिले नीति बनाउने र कर्मचारीले त्यसलाई कार्यान्वयन गर्ने हो । त्यसैले निजामती प्रशासन सक्रिय, निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी हुनुपर्छ ।"

मुख्यमन्त्री बानियाँले नेपालमा बोली र व्यवहारमा एकरूपता नहुँदा समस्या देखिएको टिप्पणी गर्नुभयो । नेतृत्व र प्रशासनको कार्यशैली नमिल्दा विगत १५-२० वर्षमा ठुला राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सोचेअनुसारको सुधार हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, "व्यवस्था परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन भएन, अब हाम्रो कार्यसम्पादन शैलीमा गम्भीर समीक्षा आवश्यक छ ।"

राजनीतिक र प्रशासनिक नेतृत्व अख्तियारको फन्दामा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्रीले कतिपय अवस्थामा प्रतिशोधपूर्ण ढङ्गले हुर्मत लिने काम समेत भइरहेको बताउनुभयो । उहाँले प्रशासनिक संरचनालाई दबाब र प्रभावमुक्त तथा पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावनासँगै सुशासन कायम गर्नुपर्ने उहाँको भनाइ थियो । सङ्घीय सरकारले निजामती र प्रहरीसम्बन्धी कानुन समयमै निर्माण गरिदिए सङ्घीयता कार्यान्वयन सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामबाबु पुरीको अध्यक्षतामा भएको कार्यशालामा विज्ञ उमेशप्रसाद मैनालीले 'सङ्घीय सुशासन र सुधारका मार्गचित्र' तथा डा. नहकुल सुवेदीले 'नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यान्वयनका चुनौती' विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, विभिन्न मन्त्रालयका मन्त्रीहरू, संसदीय समितिका सभापतिहरू, संसदीय दलका नेता, प्रमुख सचेतक तथा सचिवहरूको उपस्थिति रहेको थियो ।