• २ असार २०८१, आइतबार

नयाँ संरचना थप्दै कुष्ठ रोग अस्पताल

blog

लालगढ कुष्ठ रोग अस्पताल तथा सेवा केन्द्र परिसरमा नयाँ भवनको शिलान्यास गरिँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, जेठ ९ गते । 
नेपाल लेप्रोसी ट्रष्टद्वारा सञ्चालित लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रमा नयाँ संरचनाको शिलान्यास भएको छ ।

अस्पतालको भवन विस्तार कार्यक्रममा लालगढस्थित सेवा केन्द्र परिसरमा निर्माण हुने सात वटा नयाँ भवन तथा तीन वटा पुराना भवन पुनर्निर्माणको शिलान्यास बुधबार मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले गर्नुभएको हो ।

अमेरिकी ल्याप्रोसी मिसनमार्फत दातृ निकाय युएसएड–आशाको करिब साढे १२ करोड रुपियाँ (नौ लाख ७३ हजार ७३४ डलर) सहयोगले निर्माण हुने नयाँ संरचनाले यस अस्पतालको सेवा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका सपोर्ट सर्भिसेस म्यानेजर सुमन तामाङकाअनुसार नयाँ निर्माण हुने भवनमा अप्रेसन थिएटर, पोष्ट अफ केयर, रिसर्च युनिट, लौन्ड्री, हाउस किपिङ, अतिथि आवास तथा अतिथि गृह, हाउस किपिङ, चमेनागृह तथा तालिम केन्द्रका लागि नयाँ भवन निर्माण हुन लागेको हो ।

त्यस्तै पुनर्निर्माण गरिने पुराना भवनमा बिरामी भान्सा, तालिम आवास र तालिम चमेना गृह जस्ता सुविधा थपिने छ । नयाँ संरचनाले अहिलेको सेवा सुविधालाई थप सशक्त, स्तरीय र अत्याधुनिक बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाली तथा भारतीय बिरामीको सर्वाधिक चाप रहने लालगढ कुष्ठ रोग अस्पतालमा अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने चिकित्सा विज्ञानका विद्यार्थी तथा विज्ञहरूको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

अस्पतालमा भने आवश्यकताअनुसारको संरचना नहुँदा उनीहरूले अनेकन् कठिनाइको सामना गर्नुपरेको थियो । संरचना अभावमा स्तरीय उपचार र सेवा विस्तारमा पनि समस्या थपिँदै गएकाले नयाँ संरचना थप्नु परेको सपोर्ट सर्भिस म्यानेजर तामाङले बताउनुभयो ।

त्यस्तै अस्पतालका मेडिकल निर्देशक डा कृष्णबहादुर तामाङले नयाँ संरचनाले अन्तर्राष्ट्रिय मापदण्डको सेवा विस्तार र देश विदेशका मेडिकल अनुसन्धानकर्तालाई अवसर प्रदान गर्नुका साथै जनस्वास्थ्य र कुष्ठ रोगको क्षेत्रमा काम गर्ने सामुदायिक सङ्घसंस्थाको दक्षता अभिवृद्धिमा टेवा मिल्ने बताउनुभयो ।

ठेकेदार कम्पनीका नवराज पहाडीले शिलान्यासको २४ महिनाभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो ।

कुष्ठ रोग निवारणका लागि सन् १९९१ मा स्थापना भएको लालगढ अस्पतालले ३३ वर्ष लामो सेवाकालमा नेपाल र भारतका गरी ४२ हजार बढी कुष्ठ रोगीको सफल उपचार तथा पुनर्स्थापना गरी सकेको छ ।