• १२ साउन २०८१, शनिबार

अनुसन्धान गर्न पाँच दिन समय थप

blog

काठमाडौँ, जेठ ९ गते । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ । 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएकामध्ये पाँच जना पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “बैङ्कका कर्मचारी र गत साता मात्रै त्यहाँ खटिएका दुई कर्मचारी भेटी सङ्कलन गर्ने र लुकाउने कार्यमा संलग्न रहेको पाइएन । त्यसैले छोडिएको छ । अरू पाँच जनामाथि अनुसन्धान भइरहेको छ ।”

कोषका पाँच कर्मचारीमाथि काठमाडौँ जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी (रकम) लुकाएर चोरी गर्ने कार्यमा संलग्न भएको देखिएको थियो । 

कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि अनुसन्धान अघि बढाइएको छ । प्रहरीले बाह्मणद्वय राम सापकोटा र लक्ष्मण सापकोटा तथा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारीलाई नियन्त्रणमा लिए पनि निर्दोष देखिएपछि रिहा गरेको छ ।