• ९ मंसिर २०८१, आइतबार

जनकपुरधाममा तालिमप्राप्त गाइड विस्थापित, रिक्सा चालकले गाइड गर्दै

blog

पर्यटकलाई गाइड गर्नुहुँदै सुदर्शनलाल कर्ण । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ ७ गते । विगत लामो समयदेखि पर्यटक गाइडको रुपमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका-३ निवासी सुदर्शनलाल कर्ण भन्नुहुन्छ, “तीन दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मार्गदर्शन गर्दै आएको छु तर, जनकपुरधामा पर्यटक गाइडको व्यवस्थापन नहुँदा पर्यटकहरु ओझेलमा पर्नुका साथै गाइडहरु पेशा छाड्न बाध्य छन् । यस पेशाबाट गाइडहरु पलायन भएका छन् ।” 

उहाँ पर्यटक गाइड मात्र नभएर विभिन्न भाषा बोल्न सिपालु हुनुहुन्छ, त्यसकारण उहाँले गाइड गरेका पर्यटक जनकपुरधाम आउँदा कर्णलाई नै खोज्ने गर्छन् । कर्णले विगत ३५ वर्षदेखि जनकपुरधामको धार्मिक सांस्कृतिक र ऐतिहासिक क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकलाई पर्यटक गाइडका रुपमा मार्गदर्शन गर्दै आउनुभएको छ । उहाँले भारत, दक्षिणपूर्वी एसिया, फ्रान्स, जर्मनी, अमेरिका, चीन, जापान आदि देशका पर्यटकलाई जनकपुरधाममा मार्गदर्शन गर्दै आउनुभएको छ । 

तर, केही वर्षयता जनकपुरधामबाट पर्यटक गाइड लगभग हराएको कर्ण बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तालिमप्राप्त गाइडले दिने जानकारीबाट जनकपुरधाम आउने पर्यटक वञ्चित भइरहेका छन्, जनकपुरधाम आउने पर्यटकहरुलाई अटो रिक्सा चालकहरुले गाइड गर्ने र घुमाउने भएकाले पर्यटकहरुले सही जानकारी पाइरहनुभएको छैन ।” जनकपुरधामको महत्वबारे तालिम प्राप्त तथा अध्ययनशील व्यक्तिले मात्र सही तरिकाले बुझाउन वा जानकारी दिन सके मात्र पर्यटक पुनः आउने वातावरण सिर्जना हुन्छ तर, यहाँ सवारी चालक, रिक्सा र अटो चालकहरुले गाइड गर्दा पर्यटक सही तरिकाबाट जनकपुरधामको महत्वबारे जान्न नपाएको कर्ण बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “अहिले म ७५ वर्षको भएँ, तीन दशकभन्दा बढी पर्यटक गाइडको रुपमा काम गर्दै आएको छु, कतिपय पर्यटकलाई मैले गरेको काम मन परेर जनकपुरधाम आउँदा पुनः मलाई नै खोज्ने गरेका छन्, त्यसकारण पर्यटकलाई मार्गदर्शन गर्नेमा पर्यटक गाइडको महत्वपूर्ण भूमिका रहेकाले जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तालिम प्राप्त गाइड परिचालन गर्न आवश्यक देखिन्छ ।” तर, जनकपुरधाममा सुरुदेखि नै अटो रिक्सा चालकहरुले पर्यटकलाई मार्ग निर्देश गर्दैै आएका कारण यहाँबाट तालिमप्राप्त गाइड विस्थापित हुँदै गएको कर्ण बताउनुहुन्छ । 

वर्तमान अवस्थामा मधेश प्रदेशको राजधानी रहेको जनकपुरधामको अवस्थालाई दृष्टिगत गर्दै विशेषत जनकपुरधाम उपमहानगरपालिकाले यसलाई गम्भीरतापूर्वक ध्यान गर्नुपर्ने हो तर, उपमहानगरपालिकले पनि पर्यटक लक्षित कुनै योजना बनाएको नदेखिएको कर्णले बताउनुभयो । वि.सं २०५४ मा सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त प्रयासमा जनकपुरधाममा पहिलो पटक सञ्चालन आएको पर्यटक गाइडको तालिममा कर्णसहित एक सय जना व्यक्तिले गाइडको तालिम लिएका थिए ।  दोस्रो र तेस्रो चरणको तालिम पनि पूरा गरें तर, अटो रिक्सा चालकले पर्यटकलाई गाइड गर्ने क्रम बढ्दै जाँदा जनकपुरधामबाट गाइड विस्थापित हुने अवस्था आएको कर्ण बताउनुहुन्छ । 

जनकपुरमा सयभन्दा बढी गाइडलाई तालिम दिई टुर गाइड एसोसिएसन पनि दर्ता भई काम गर्न थाले पनि सुरुवाती दिनदेखि नै जनकपुरधाममा अटोरिक्सा चालकले पर्यटकलाई मार्गनिर्देश गर्न थालेका थिए, जुन आजसम्म यथावत नै छ, “कर्णले भन्नुभयो । जनकपुरधामको धार्मिक र सांस्कृतिक क्षेत्रमा अटोरिक्सा चालकहरुले पर्यटकलाई मार्गदर्शन गर्ने कार्यले तीव्रता लिएका कारण तालिम प्राप्त गाइडहरु विस्थापित भएको र गाइड सङ्घले पनि काम गर्न छोडेको कर्ण बताउनुहुन्छ ।

पर्यटनकको वृद्धिलाई सहजीकरण गर्न र स्थानीय गाइडहरुलाई फाइदा पुग्ने गरी व्यवस्थापन गर्नका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको आवाज कर्णले उठाउँदै पनि आउनुभएको छ । जनकपुरधामको पूर्वाधार सुधार गर्न र सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको उचित प्रचार-प्रसार गर्न केही प्रयास भए पनि स्थानीय पर्यटक गाइडहरुको पेशालाई निरन्तरता दिने कार्यमा भने कुनै पहल नभएको उहाँ बताउनुहुन्छ । 

कर्णलाई पर्यटकको आगमनमा वृद्धिसँगै आफूले लामो समय उत्साहका साथ काम गर्दै आएको गाइड पेशालाई पनि निरन्तरता दिने इच्छा छ । यस्तै गत छठ हेर्न आएका एक विदेशी पर्यटकको टोलीलाई सवारी चालकले गाइड गर्दै हुनुहुथ्यो । उहाँले केही गलत जानकारी दिइरहनुभएको सुनेर जनकपुरधामकै एक पत्रकारले “म पत्रकार हुँ, मलाई तपाईंसँग आएका पर्यटकहरुसँग जनकपुरधामको बारेमा थोरै कुरा गर्नुछ, जनकपुरधाम बारे केही बताउन र सोध्न चाहन्छु भन्दा, ती सवारी चालकले पर्यटकहरु कोहीसँग बोल्न नचाहेको भन्दै पत्रकार उभिएको ठाउँदेखि टाढा लिएर जानुभयो । 

ती पत्रकार केही बेर रोक्नुस् न भन्दै पछि पनि लागे तर, भिडभाड भएका कारण कुरा गर्न सम्भव भएन । पर्यटक आगमन बढाउनका लागि पर्यटकीय क्षेत्रको महत्वबारे बुझाउन अति आवश्यक हुन्छ ।  त्यो काम तालिमप्राप्त गाइडले मात्र गर्न सक्छन् किनकि त्यो उनीहरुको पेशा हो । गाइड पेशालाई व्यवस्थित बनाउन र टिकाउन बनारसस्थित सारनाथमा हेर्न सकिन्छ । जहाँ आउने पर्यटकहरुलाई त्यहाँका गाइडहरुले प्रत्येक टोली, प्रत्येक व्यक्तिलाई कुनै झन्झट बिना विस्तारमा सारनाथको महत्व बारे बुझाउने गर्छन् । 

लखनउको बडा इमामबारा (भुलभुलैया), त्यहाँ कै आर्ट ग्यालरीमा समेत गाइड विना कुनै पर्यटक प्रवेश गर्दैनन् । तर, नेपालको धार्मिक ऐतिहासिक सहर तथा प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई पर्यटकीय रुपमा व्यवस्थित बनाउन भने अझै कुनै पहल भएको छैन । यसबारे प्रदेश तथा स्थानीय सरकारले बेलाबखत अन्तरक्रिया गोष्ठी गरिरहेका हुन्छन् भने जनकपुरधाम उपमहानगरपालिकले भने आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रममा ३० जना रिक्सा चालकलाई गाइडको तालिम दिने व्यवस्था गरेको उपमहानगरका प्रमुख मनोजकुमार साहले बताउनुभयो । 

उहाँले भन्नुभयो,“जनकपुरधाम आउने पर्यटकलाई रिक्सा चालकले नै घुमाउने हुँदा गाइडको तालिम पनि चालकहरुलाई नै दिने व्यवस्था गरिएको हो ।” पर्यटक आगमनले देशको आर्थिक विकासमा टेवा पुग्ने तथा व्यापार व्यवसाय बढ्ने हुँदा प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तालिम प्राप्त पर्यटक गाइडबाट मार्गदर्शन गर्न आवश्यक देखिन्छ । जनकपुरधामको पर्यटन व्यवस्थापनलाई व्यवस्थित र समावेशी बनाउनु आवश्यक छ, जसले स्थानीय गाइडहरुलाई लाभ र पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ ।