• १२ साउन २०८१, शनिबार

देशलाई बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : महासचिव पोखरेल

blog

नेकपा एमाले दाङको १४ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेल। तस्वीर : लीलाधर वली

लीलाधर वली 

घोराही, जेठ ६ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा देखिएको निराशालाई चिर्दै देशको विकास गर्नका लागि वर्तमान गठनबन्धनको विकल्प नभएको बताउनुभएको छ। 

नेकपा (एमाले) दाङको १४ औं जिल्ला अधिवेशनलाई घोराहीमा सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई आर्थिक संकटबाट बचाउनका लागि वर्तमान गठबन्धन बनेकाले गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभएको हो। 

देशमा देखिएको आर्थिक संकटसँगै राजनीतिक अस्थीरताका कारण जनतामा देखिएको निराशाको अन्त्य गर्नका लागि नयाँ समीकरण निर्माण भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो,‘‘नयाँ समिकरणको स्थायित्वका लागि नेताहरुले पार्टी र व्यक्तिगत स्वार्थभन्दामाथि सोच्नुपर्छ।’’

उहाँले देशको आर्थिक विकास, जनतामा आशासँगै युवालाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भनेर देखाउनुका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो। 

उहाँले २०८४ सालको निर्वाचनबाट नेकपा एमाले देशमा बलियो शक्तिका आउने बताउनुभएको छ। देशमा धेरै पार्टीभन्दा प्रमुख शक्तिको आवश्यकता रहेकाले जनतालाई दलभन्दा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने शक्तिलाई रोज्नुपर्ने बताउनुभएको थियो। 

नेकपा एमाले राष्ट्रिय राजनीतिको प्रमुख शक्ति रहेको भन्दै देशलाई सहि बाटो पनि एमाले दिने बताउनुभयो। उहाँले देशको आवश्यकतालाई पहिचान गरेर अघि बढ्ने जनताभन्दा पनि भीड र अतिवादको पछि लाग्ने एक खालको जनमत रहेको भन्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभएको थियो। 

दाङ कम्युनिस्ट आन्दोलनका लागि उर्भरभूमीका रुपमा रहे पनि केन्द्रीय राजनीतिमा भूमिका खेल्न सक्नेगरी जनताले प्रतिनिधि चुन्नबाट चुकेको बताउनुभयो। 

नेकपा एमाले दाङको अधिवेशन जेठ ७ गतेसम्म चल्ने छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका वर्तमान अध्यक्ष हुकुम बस्नेत, प्रदेश कमिटी सदस्य शिवकुमार आचार्य र वर्तमान जिल्ला सचिव मनोहर बुढाथोकी नेतृत्वका आकांक्षी देखिनुभएको छ। नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको बताइएको छ।