• २० जेठ २०८१, आइतबार

स्वास्थ्य शिविरमा १७ सयभन्दा बढीले सेवा लिए

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ ५ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार ७५४ जनाले सेवा लिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूको पदबहालीको दुई वर्ष पूरा भएको सन्दर्भमा यस गाउँपालिकाद्वारा विशेषज्ञ डाक्टरहरूसहित स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

रोगलाई समयमै पहिचान गर्न सके धेरै नागरिकहरूको स्वास्थ्य जोखिम कम गर्न सकिने उद्देश्यसहित गाउँपालिकाको केन्द्र शान्तिपुरमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ । शिविरमा सुगर, प्रेसर, थाइराइड्स, दम, पेट, छाती तथा मुटु रोग सम्बन्धी सामान्य चिकित्सा, हाडजोर्नी तथा नशारोग, महिला प्रसूति तथा स्त्रीरोग, युरो सर्जन, छाला तथा यौनरोग, रेडियोलोजी सेवा, एनेस्थ्योलोजी, दन्त चिकित्सा एवम् आँखा सम्बन्धी रोगको विशेषज्ञ डाक्टरहरू सहितको सेवा प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

जसमा फिजिसियन सेवातर्फ ५८० जना, हाडजोर्नी तथा नशारोगतर्फ ३४७ जना, महिला प्रसूति तथा स्त्रीरोग तर्फ १६० जना, युरो सर्जन तर्फ २४ जना, छाला तथा यौनरोगतर्फ १०१ जना, भिडियो एक्स-रे सेवातर्फ १२२ जना, ईसीजीतर्फ ७२ जना, दन्त चिकित्सातर्फ ३५ जना, आँखा उपचार सम्बन्धी १५९ जना, प्रयोगशाला सेवातर्फ १५४ जना सर्वसाधारणले शिविरबाट सेवा लिएका छन् । शिविरमा चन्द्रकोटबासी सँगै सत्यवती, वाग्लुङ्गको बरेङलगायतका विभिन्न स्थानका नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा निःशुल्क औषधि वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्स-रे सेवा प्रदान गरिएको थियो ।

शिविर मार्फत विशेषज्ञ डाक्टरहरूसँग स्वास्थ्य परीक्षण गराउन पाउँदा स्थानीय नागरिकहरू अत्यन्तै खुसी हुँदै गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा लिन पाउँदा बाहिर जानुपर्ने बाध्यता हटेको बताए । असहाय तथा आर्थिक अभावका कारण  स्वास्थ्य जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले बताउनुभयो । निर्वाचनको समयमा जनतालाई दिएका प्रतिबद्धता पुरा गर्न नियमित कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्दै आएको भन्दै उहाँले गाउँपालिकाभित्रका अशक्त गरिब नागरिकले यस शिविर मार्फत स्वास्थ्य सेवा लिएको बताउनुभयो ।

शिविरमा सुगर, प्रेसर, थाइराइड्स, बाथ दम छाती तथा मुटुरोग विशेषज्ञ डा। हरिप्रसाद पन्थी, डा. विभव बस्याल र डा। दुर्गा सुरखाली, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विकाश न्यौपाने, डा. रमेश अर्याल र उत्सव रेग्मी र महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ, डा।शिला ढकालसहित १६ जना विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्नुभयो ।