• १२ साउन २०८१, शनिबार

खरबुजा बेच्न भ्याइनभ्याइ

blog

धनगढी समाचारदाता

धनगढी, जेठ ५ गते । कैलालीको धनगढी बजार आसपास खरबुजा खेती गरेका किसानलाई आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको छ । उत्पादन राम्रो भएपछि धनगढी बजार क्षेत्रमा खरबुजा बेच्न भ्याइनभ्याइ भएको हो । मोहना, खुटिया नदीको बगरमा खरबुजा खेती गरेका किसान बयलगाडा (डल्लप) मा ल्याएर आफ्नो उत्पादन धनगढी बजार क्षेत्रमा बेच्ने काम गरिरहेका छन् । 

उत्पादन बढेकाले खरबुजा बिक्रीका लागि दौडधुप बढेको धनगढी उपमहानगरपालिका–१७, पथरीका कृषक हरिराम चौधरीले बताउनुभयो  । उहाँले डल्लपभरि खरबुजा ल्याएर धनगढीका टोल टोलमा बिक्री गर्ने कार्य गरिरहेको जनाउनुभयो । चौधरीले १७ कट्ठा जमिनमा खरबुजा खेती गर्नुभएको छ । अहिले खरबुजा धमाधम पाकिरहेकाले बिक्रीका लागि दौडधुप बढेको उहाँको भनाइ छ । धनगढी उपमहानगरपालिका–९, बङ्गरा, वडा नम्बर १० घुइयाघाट, वडा नम्बर ११ जुगेडाका किसानले मोहना नदीको बगरमा खरबुजा र तरकारी खेती गरेका छन् । यसै गरी पथरी, धुरझन्ना, बेलीका किसानले खुटिया नदीको बगरमा खरबुजा खेती गरेका छन् । 

गर्मी याममा खरबुजा निकै उपयुक्त हुने गरेका कारण हरेक वर्ष आफूले खेती गर्दै आएको पथरीकै बठुवा रानाले बताउनुभयो । यस वर्ष तीन कट्ठा जमिनमा खरबुजा खेती गर्नुभएका उहाँले दैनिक एक डल्लप खरबुजा बिक्री गरिरहेको जानकारी दिनुभयो । खरबुजा खेती गरेका किसानबिच होडबाजीका कारण खरबुजाको मूल्य घटेको छ । सुरुवातमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् ।