• १३ साउन २०८१, आइतबार

भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

blog

फाइल तस्बिर

जाजरकोट समाचारदाता

जाजरकोट, जेठ ५ गते । बारेकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ महिना पुग्दा पनि पीडितहरूले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । कुल ४२ हजार ५२४ लाभग्राही रहेको जिल्लामा अहिलेसम्म ३४ हजार सात सय मात्र अस्थायी आवास निर्माण गरिएका छन् । 

विभिन्न सङ्घ/संस्थाले एक हजार ९५४ अस्थायी आवास निर्माण गरिदिएका छन् भने सरकारले ३२ हजार ५२६ अस्थायी आवास निर्माण गरेको छ । दोस्रो किस्ताका लागि ३८ हजार ६०३ जना भूकम्पपीडितको विपत् पोर्टलमा प्रविष्ट गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्याङ्कमा उल्लेख छ ।

प्रशासनको तथ्याङ्क अनुसार पहिलो किस्ताका लागि ४० हजार ३८४ भूकम्पपीडितले पालिकासँग सम्झौता गरेका छन् । अझै केही भूकम्पपीडितले सम्झौता गर्न सकेका छैनन् । भूकम्प गएको छ महिनासम्म दोस्रो किस्ता रकम नपाउँदा भूकम्पपीडित चिन्तित भएका छन् । 

सरकारले दिएको पहिलो किस्ता रकम र साहुबाट कर्जा लिएर आवास निर्माण गरेका सर्वसाधारणले छ महिनासम्म दोस्रो किस्ता नपाएपछि ऋण तिर्न पीडितलाई समस्या भएको छ । दोस्रो किस्ताका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० बमोजिम विपत् पोर्टलमा नाम प्रविष्ट गर्नुपर्ने प्रावधान राखेको छ । अहिले यहाँका स्थानीय तह विपत् पोर्टलमा भूकम्पपीडितको नाम प्रविष्ट गर्न व्यस्त रहेका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य स्थानीय तहले मागेको अवस्थामा रकम निकासा दिन आफूहरू तयारी अवस्थामा रहेको बताउनुहुन्छ  । स्थानीय तहमा अहिले विपत् पोर्टलमा तथ्याङ्क प्रविष्ट गर्ने काम भइरहेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।