• १२ साउन २०८१, शनिबार

स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ

blog

नक्कली चिकित्सक बनेर शिविर सञ्चालन गरिरहेका भूपेन्द्रबहादुर क्षेत्री ।

केशवचन्द्र महरा

दिपायल, जेठ ३ गते । दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते स्वास्थ्य उपचारका लागि घरनजिकै सञ्चालन भएको स्वास्थ्य शिविरमा पुग्नुभयो । विशेषज्ञ डाक्टरसहितको टोलीले पाँच सय रुपियाँमा नयाँ प्रविधिबाट ‘होलबडी’ चेकजाँच गर्नुका साथै उपचार गरिरहेको जानकारी पाएपछि उहाँ स्वास्थ्य शिविरमा पुग्नुभएको हो ।

काठमाडौँबाट ठुलै डाक्टर आएर बिरामीको उपचार गरिरहेको सामाजिक सञ्जाल फेसबुकबाट थाहा पाएपछि उपचार गर्न गएको उहाँले बताउनुभयो ।  “फेसबुकमार्फत काठमाडौँबाट विशेषज्ञ डाक्टर आउनुभएको थाहा पाएपछि उपचारका लागि शिविरमा गएँ,” उहाँले भन्नुभयो । 

‘होलबडी’ चेकअप गर्नका लागि पाँच सय रुपियाँ लिइयो तर बिल, रसिद दिइएन । उहाँले भन्नुभयो, “एक मिनेट जति एउटा मेसिनको टुप्पा समात्न लगाइयो र सात पेजको रिपोर्ट हातमा थमाइयो । त्यो रिपोर्ट डाक्टर भूपेन्द्र क्षेत्रीले हेरे र फलफूल साँझ बिहान खान भने । माछा, मासु, अल्कोहल नखान सुझाव दिए ।”

डाक्टरले प्रेसरको समस्या बढ्न सक्ने भन्दै त्यसको कन्ट्रोलका लागि एउटा चुम्बकजडित घडीको चेन जस्तो ब्रासलेट दिएको कठायतले बताउनुभयो । काम नगरे पैसा फिर्ता गर्ने भन्दै सो ब्रासलेटको पाँच हजार लिइयो तर रसिद दिइएन ।

त्यस्तै सायल गाउँपालिकाकी एक महिलाले पनि सोही शिविरमा स्वास्थ्य चेकजाँच गराउनुभयो । उक्त शिविरको चेकजाँच चित्त नबुझेपछि उहाँका श्रीमान् तेज डुम्रेलले थप उपचारका लागि सुजङ्ग अस्पतालमा लग्नुभयो । शिविरमा थाइराइडको समस्या नदेखिएको तर अस्पतालको ल्याब टेस्टपछि देखिएको र डाक्टरले औषधी दिएको जानकारी डुम्रेलले दिनुभयो ।

वैशाख २७ बाट सुरु भएको सो स्वास्थ्य शिविर ३० सम्म सञ्चालन भएको थियो । दिपायल सिलगढी नगरपालिका–४ को आयोजना तथा होलिस्टिक इन्स्टिच्युट अफ मेडिकल सोलुसन्स, हिम्स हेल्थ केयर नामक व्यावसायिक फर्मको सहयोगमा सञ्चालित शिविरमा २३० जना बिरामीले स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीलाई पाँच हजार रुपियाँका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइयो । ‘होलबडी’ चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार रुपियाँ असुल गरियो भने ब्रासलेट, एटिएम प्रतिव्यक्तिलाई पाँच हजारको दरले बिक्री गरियो ।

एक जना बिरामीको रिपोर्टमा कुकुरको मासु नखानु भनी लेखिएको भेटियो । डाक्टर भूपेन्द्र क्षेत्री लेखिएको ‘प्रेस्क्रिप्सन’ मा सुरुका दुई दिन हिन्दी र अङ्ग्रेजी शब्द लेखिएको थियो । गुनासो बढेपछि नेपाली र अङ्ग्रेजी बनाइएको थियो ।

वडा कार्यालय पनि ठगियो

४ नम्वर वडा कार्यालयले वैशाख २४ गते स्वास्थ्य शिविर सञ्चालन हुनेसम्बन्धी सार्वजनिक सूचना प्रकाशन ग¥यो । जसमा लेखिएको थियो पाँच सय रुपियाँमा सम्पूर्ण शरीर (होलबडी) चेकजाँच गरिने भएकाले मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ । वडा कार्यालयले सार्वजनिक गरेको सूचनामा हिम्स हेल्थ केयर काँडाघारी काठमाडौँको सहयोगमा डा. भूपेन्द्र क्षेत्रीको टिमले स्वास्थ्य चेकजाँच गर्ने उल्लेख थियो । वडा कार्यालयले नै सूचना जारी गरेपछि सेवा लिने सर्वसाधारणको घुइँचो लाग्यो । वडाध्यक्ष अशोक सोपद्वारा हस्ताक्षर गरिएको सो सूचना सामाजिक सञ्जालमा भाइरल गराइयो । वैशाख २७ बाट सुरु भएको सो शिविर ३० सम्म सञ्चालन भयो ।

शिविरमा बिरामीसँगै दिपायल सिलगढी नगरपालिकाको वडा सरकार पनि ठगिएको छ । वडा कार्यालयलाई विशेषज्ञ डाक्टर आउने र पाँच सय रुपियाँमा होलबडी चेक हुने खबर प्राप्त हुन्छ । त्यसपछि जनताले सहज स्वास्थ्य सेवा पाउने भए भनेर हौसिएर सूचना प्रकाशन गरेको वडा कार्यालयले जनाएको छ । सेवा दिने डाक्टर, संस्था र मेसिनको आधिकारिकता नै प्रमाणीकरण नगरी वडा कार्यालय शिविरको आयोजक बनेको देखिन्छ । काउन्सिलबाट प्रमाणीकरण भएको विशेषज्ञ डाक्टर आउने र दर्ता भएको संस्थाले सहयोग गर्ने जानकारी प्राप्त भएपछि आफूहरूले शिविर आयोजना गरेको वडाध्यक्ष अशोक सोपले बताउनुभयो ।

उहाँले शिविरमा बिरामी ठगिएकाबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । वडा कार्यालय शिविरको आयोजक मात्र बनेन शिविरको व्यवस्थापनमा चार दिनसम्म खटियो । वडाका कर्मचारी, स्वास्थ्यकर्मीलाई पनि शिविरमा खटाइयो । वडाले नक्कली डाक्टरहरूको खाना, आवास तथा शिविर सञ्चालन गर्न सरकारी भवनको व्यवस्थासमेत गरिदिएका थियो ।

नक्कली डाक्टर पक्राउ

प्रहरीले शिविरका नाममा बिरामीलाई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिविरमा विशेषज्ञ डाक्टर भनिएका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र ४६ वर्षीय पुष्कर गुनियाल रहेका छन् । क्षेत्री दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ र गुनियाल कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ का स्थानीय बासिन्दा हुन् । शिविरमा प्रयोग भएका सामग्रीसहित दुवै जनालाई  पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । भारतीय बजारमा पाँच हजारमा पाइने सफ्टवेयर जडित क्वान्टम चुम्बकीय अनुनाद विश्लेषक मेसिन र भाइब्रेसन दिने मेसिनको सहायतामा बिरामीलाई ठगी गरेको आरोप प्रहरीको छ । पक्राउ परेका व्यक्तिहरू डाक्टर, स्वास्थ्यकर्मी नभएको पुष्टि भएको छ । 

अभियुक्त भूपेन्द्रले आफू चिकित्सक तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको स्वीकार गर्दै भारतको इन्स्च्यिुटबाट पिएचडी गरेर डाक्टरको उपाधि पाएको दाबी गरेका छन् । 

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले काउन्सिलमा दर्ता नभएका व्यक्तिले शिविर सञ्चालन गर्न नपाउने बताउनुभयो । सहयोगी संस्था भनिएको होलिस्टिक इन्स्टिच्युट अफ मेडिकल सोलुसन्स, हिम्स हेल्थ केयर नामक व्यावसायिक फर्मले पनि शिविर सञ्चालन गर्ने अनुमति लिएको छैन । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ मा भूपेन्द्रबहादुर क्षेत्रीका नाममा २०८० साल पुस ११ गते व्यवसाय दर्ता भएको छ । सो वडामा होलिस्टिक इन्स्टिच्युट अफ मेडिकल सोलुसन्स, हिम्स हेल्थ केयर नामक व्यवसाय दर्ता छ । जसमा प्राकृतिक उपचार, थेरापी, दीर्घरोग उपचार तथा परामर्श सेवा गर्न पाउने उल्लेख छ ।