• १ असार २०८१, शुक्रबार

डढेलोबाट पश्चिमी क्यानडामा छ हजारभन्दा बढी विस्थापित

blog

ओटावा, जेठ २ गते । क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् ।

वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्यूजले बताएको छ ।

बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली गर्ने आदेश प्रभावकारी छ । फोर्ट म्याकमुरेका धेरै छिमेकीलाई अग्नि नियन्त्रकहरूका लागि बाटो बनाउन खाली गरिँदै गरेको बताइएको छ ।

उक्त विस्थापित क्षेत्रका सबै बासिन्दालाई अपराह्न ४ बजेसम्म छाड्न आदेश दिइएको थियो । सिबिसी न्यूजका अनुसार क्षेत्रीय अग्नि नियन्त्रण प्रमुख जोडी बुट्जले भन्नुभयो, “यो आदेशले खाली गर्ने क्षेत्रमा छ हजार पाँच सय मानिसलाई प्रभावित गर्नेछ ।”

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार मङ्गलबार देशभरि एक सय ३४ वटा आगलागीका घटना भएका थिए । तीमध्ये ४३ वटा आगलागी नियन्त्रणबाहिर छन् । 

क्यानडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले जङ्गलमा आगलागीको ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

सन् २०२३ मा क्यानडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो । क्यानडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी रेकर्ड गरिएको थियो । ती आगलागीबाट एक करोड ७२ लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो । रासस/सिन्ह्वा