• १२ साउन २०८१, शनिबार

सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्छ

blog

आधुनिक राष्ट्रिय मावि ५६ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ २ गते । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको ५६ औं स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षा दिएर निजीबाट सामुदायिक विद्यालय आउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।  

मकवानपुरको शैक्षिक क्षेत्रमा आधुनिक माविको अतुलनीय योगदान रहेको स्मरण गराउँदै अब्बल माविको रूपमा स्थापित भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिनसके अभिभावक मोटो रकम तिरेर निजी विद्यालयमा आफ्ना बच्चा पढाउन बाध्य हुने अवस्थाको अन्त्य हुने बताउनुभयो । "हामीले विद्यार्थी खोज्ने होइन, विद्यार्थीले विद्यालय खोज्ने वातावरण सिर्जना गर्नुपर्छ", उहाँले भन्नुभयो । अब बिस्तारै मेघा विद्यालयमा जान जोड दिंदै मकवानपुर अब शिक्षाको क्षेत्रमा अब्बल हुनुपर्ने उहाँको तर्क छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा मकवानपुर अन्त जान नपर्ने अवस्थाको सिर्जना भइरहेको बताउँदै पौडेलले विदेशिने मानसिकता हटाएर स्वदेशमै अध्ययनन र रोजगारीको सिर्जना गर्न सबै लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दिनानाथ गौतमले सामुदायिक विद्यालय मध्य आधुनिक अब्बल रहेको बताउनुभयो । हेटौँडा उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नवीन सिग्देलले शिक्षा क्षेत्रलाई अगाडि बढाउन मेघा विद्यालयको अवधारणामा जानुपर्ने तर्क गर्नुभयो । उहाँले जिल्लाका सामुदायिक विद्यालय मर्ज गर्न जरुरी भइसकेको बताउँदै समुदायका शिक्षक, कर्मचारी सबैले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताउनुभयो ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाका क्याम्पस प्रमुख डाक्टर यम सिलवालले हेटौँडालाई शिक्षाको क्षेत्रमा चिनाउन आधुनिकको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सामुदायिक विद्यालय सक्षम भएको उदाहरण बन्न सफल भएकोमा प्रशंसा गर्नुभयो । विद्यार्थीको गुणस्तरका लागि विद्यालयले गरेको शैक्षिक गतिविधि अन्य सामुदायिक विद्यालयले पनि सिक्न जरुरी रहेको उहाँको भनाइ छ । 

हेटौँडा क्याम्पस प्रमुख देवीराम लामाले सबैको साथ र सहयोगबाट विद्यालयले सफलता हासिल गरेकाले त्यसलाई जोगाउन चुनौती रहेको बताउँदै शैक्षिक गतिविधि उत्कृष्ट भएकाले अझै थप सफलता हासिल गर्नसक्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार र शिक्षण सेवानिवृत्त हुनुभएका शिक्षकलाई सम्मान गरिएको थियो । २०२४ साल जेठ २ गते प्राविबाट सुरू भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो भने सामुदायिक विद्यालय तर्फ दुई दशकदेखि जिल्ला प्रथम हुन सफल भएको आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिनुभयो । 

साना साना टहराबाट सञ्चालन भएको यस विद्यालयमा २०३६ सालबाट एसएलसी र २०६७ बाट कक्षा १२ सम्मको अध्यापन सुरु गरिएको थियो । नमुना विज्ञान विद्यालय समेत रहेको यो सामुदायिक विद्यालय जिल्लाको मात्रै रोजाइमा नभ मधेश प्रदेशका जिल्लाबाट पनि विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउने गरेको आधुनिक राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिमले बताउनुभयो । हाल यस विद्यालयमा २ हजार ७६८ विद्यार्थी अध्ययनरत छन् ।