डा. निर्मलमणि अधिकारी
नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ । यसरी नेपालमा निर्वाचनको इतिहास स्थानीय निर्वाचनबाटै प्रारम्भ भयो । देशकै पहिलो अर्थात् वि.सं. २००४ को निर्वाचनको समयमा देशमा प्रेस स्वतन्त्रता नरहेको र तत्कालीन जहानियाँ राणा शासनको प्रकृति नै अलोकतान्त्रिक/अप्रजातान्त्रिक रहेकाले मिडियाको भूमिका नगन्यजस्तै थियो ।
गोरखापत्रमा निर्वाचनबारे छापिएका समाचारले निर्वाचन र मिडियाको सम्बन्धको प्रारम्भ भने अवश्यै भयो । उक्त निर्वाचनमा महिला सहभागिता नरहेको र वि.सं. २०१० भदौ १७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले मताधिकार प्रयोग गर्न पाएको तथ्य यहाँ उल्लेखनीय छ । दोस्रो अर्थात् वि.सं. २०१० को निर्वाचनको समयमा देशमा बहुदलीय प्रजातन्त्र र प्रेस स्वतन्त्रता रहेकाले मिडियाको सक्रिय भूमिका रह्यो ।
वि.सं.२०१४ माघ ७ गते सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनका क्रममा मिडियाको सक्रियता झन् बढ्यो । पञ्चायती व्यवस्थाको कालखण्डमा २०१८ फागुन ७ गते सम्पन्न गाउँ पञ्चायत निर्वाचन, २०१९ र २०२० मा विभिन्न मितिमा सम्पन्न नगर पञ्चायत, जिल्ला पञ्चायत तथा अञ्चल पञ्चायतको निर्वाचन तथा २०३२ मा सम्पन्न स्थानीय निर्वाचनमा मिडियाको भूमिका नियन्त्रित रह्यो । पञ्चायती व्यवस्थामै वि.सं. २०३९ र वि.सं. २०४३ का स्थानीय निर्वाचनमा भने मिडियाको सक्रियतामा बढोत्तरी देखियो । नेपालका मिडियाले स्थानीय निर्वाचनमा पूर्ण स्वतन्त्रतापूर्वक भूमिका निर्वाह गर्न पाएको पहिलो अवसरचाहिँ स्थानीय निर्वाचन २०४९ थियो ।
लोकतान्त्रिक प्रणालीको जीवन्तताका लागि आवधिक निर्वाचन, आवधिक निर्वाचनको सफलताका लागि सुसूचित नागरिक सहभागिता, उपर्युक्त सहभागिताका लागि विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र उक्त स्वतन्त्रताको प्रत्याभूतिका लागि स्वतन्त्र मिडियाको आवश्यकता पर्छ भन्ने तथ्यमा संसारभरि नै लगभग मतैक्य देखिन्छ । निर्वाचन प्रक्रियामा मिडियाको भूमिका बढ्दो रहेको धरातलीय यथार्थलाई अरू देशमा जस्तै नेपालमा पनि महसुस गरिएकै छ ।
देशले सङ्घीय संरचना स्वीकारी बलियो स्थानीय सरकारको प्रावधान लागू गरिसकेको पृष्ठभूमिमा स्थानीय निर्वाचनको महìव जुन अनुपातमा बढेको छ, निर्वाचनका क्रममा मिडियाको भूमिकामा पनि सङ्ख्यात्मक र गुणात्मक दुवै आयाममा निकै बढोत्तरी छ । कुनै जिल्ला–विशेषमा केन्द्रित रहेर पत्रपत्रिका, रेडियो, केबल टेलिभिजन, अनलाइन सञ्चालन गर्ने अभ्यास केही पहिल्यैदेखि रहेकोमा तीन तहको सङ्घीयतासँगै विशिष्टिकृत मिडियाको सञ्चालन पालिका–विशेषमा पनि पुगेको छ । नेपालमा गाउँपालिका वा नगरपालिका क्षेत्रमा मात्रै केन्द्रित रहेर सञ्चालन गरिएका समाचार–माध्यम पनि थुप्रै छन् । स्थानीय निर्वाचनका समयमा यस्ता समाचार–माध्यमको सङ्ख्या झन् बढेको देखिएको छ ।
निर्वाचनमा मिडियाको भूमिका सार्वजनिक सरोकारको विषय हो । स्वच्छ निर्वाचनको प्रत्याभूतिका लागि मिडियाको स्वतन्त्र, निष्पक्ष एवं प्रभावकारी भूमिका आवश्यक हुन्छ । ‘युरोपियन कमिसन फर् डेमोक्रेसी थ्रु ल’ ले मतदाताको अधिकारको दृष्टिकोणबाट, राजनीतिक पार्टी र उम्मेदवारको अधिकारको दृष्टिकोणबाट र मिडियाको स्वतन्त्रताको दृष्टिकोणबाट निर्वाचनमा मिडियाको भूमिकालाई आकलन गर्ने गरेको छ ।
लोकतान्त्रिक प्रणालीमा आवधिक निर्वाचनको औचित्य सुसूचित जनसमुदायको विवेकपूर्ण निर्णयमा निर्भर रहन्छ भने जनसमुदाय सुसूचित बन्नका लागि मिडियाले सूचना स्रोत साथसाथै विचार अभिव्यक्तिको मञ्चका रूपमा कार्य गर्नुपर्ने हुन्छ । राजनीतिक पार्टी र उम्मेदवारको अधिकारको दृष्टिकोणबाट हेर्दा मिडियाले राजनीतिक पार्टी, तिनीहरूका उम्मेदवार र स्वतन्त्र वा निर्दलीय उम्मेदवारलाई मतदातासँग संवाद गर्न अवसर दिन्छ । मिडियामार्फत राजनीतिक पार्टी र उम्मेदवारको सर्वसाधारण एवं आफ्ना मतदातासम्म व्यापक पहुँच सम्भव हुन्छ । मिडिया स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक चरित्र अवलम्बन गरेको भएमा मात्र निर्वाचनमा सार्थक भूमिका रहन्छ । अन्यथा मिडियाले जनतालाई सुसूचित गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्दैन ।
मिडियाका लगानीकर्ता, सञ्चालन तथा व्यवस्थापन समूह र समाचारकक्षको अन्तरसम्बन्ध कस्तो छ भन्ने सबाल यहाँ आउँछ । मिडियाको सम्बन्ध राजनीतिक पार्टी, जनप्रतिनिधि, आकाङ्क्षी तथा उम्मेदवार, गैरसरकारी संस्था, ‘कर्पोरेट’, निर्माण–व्यवसायी तथा व्यवसायी वा अन्यसँग कस्तो छ भन्ने सबाल पनि यहाँ सान्दर्भिक हुन्छ । आश वा त्रास जुनसुकै कारणले पत्रकारले आफ्नो अभिव्यक्तिलाई रोक्नुपर्ने (‘सेल्फसेन्सरसिप’को अवस्था) भएमा वा मिडियामा समाचारको कलेवरमा कसैका स्वार्थमूलक सामग्री घुसेमा मिडियाको कर्तव्यको प्रतिकूल हुन्छ ।
निर्वाचनमा मिडियाले गर्नसक्ने अनेकौँ कार्य छन् । ‘द एसीई इलेक्टोरल नलेज नेटवर्क’ ले तयार पारेको सूचीमा तीमध्ये मिडियाले उम्मेदवार, सरकार, निर्वाचन व्यवस्थापन निकायका सफलता र असफलतालाई उजागर गरी तिनीहरूलाई जवाफदेही बनाउने पहरेदार (वाचडग) भूमिकालाई प्राथमिकता दिइएको छ । मिडियाले लोकतान्त्रिक अधिकार कसरी प्रयोग गर्ने भन्नेबारे सर्वसाधारणलाई शिक्षित बनाउने, निर्वाचन प्रक्रियाको रिपोर्टिङ गर्ने एवं राजनीतिक पार्टी र उम्मेदवारलाई मतदातासँग संवाद गर्ने अवसर दिने कार्य गर्न सक्छन् । सर्वसाधारणले आफ्ना सरोकार, विचार तथा आवश्यकताबारे राजनीतिक पार्टी, उम्मेदवार, निर्वाचन गर्ने निकाय, सरकार तथा आफूजस्तै मतदातालाई जानकारी दिने र आपसी अन्तक्र्रिया गर्ने अवसर पनि मिडियाले दिन सक्छन् । व्यापक पहुँच भएका मिडियाबिना उपर्युक्त सूचना प्रवाह र अन्तक्र्रिया असम्भव नभए पनि दुरुह पक्कै हुन्छ । अलग अलग उम्मेदवारलाई बहसमा निम्त्याएर तिनीहरूका योग्यता, योजना र जिम्मेवारीबारे तुलनात्मक विश्लेषण गर्न जनतालाई सहज पारिदिने जिम्मेवारी पनि मिडियाकै हो ।
निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र समतामूलक बनाउनमा पनि मिडियाले योगदान गर्न सक्छ । स्वतन्त्र, निष्पक्ष र सक्रिय मिडियाको उपस्थिति नरहेको अवस्थामा चुनावी धाँधलीको सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएका छन् । मिडियाले निर्वाचनका क्रममा राजनीतिक तथा विकास कार्यसूची निर्धारण (एजेन्डा सेटिङ) मा प्रभाव पार्ने रहेछन् भन्ने तथ्य पनि अनुसन्धानबाट स्थापित छ । मतदाता साक्षरता अभिवृद्धिमा मिडियाको निकै प्रभावकारी उपयोगिता हुनसक्ने देखिएको छ ।
निर्वाचनका क्रममा मिडियाले पारदर्शिता संयन्त्र वा पहरेदार भूमिका निर्वाह गर्छ । निर्वाचन अभियान सञ्चालनको मञ्च पनि हो मिडिया । मिडिया जनसरोकार र जनअभिमतको प्रकटीकरण, बहस र सामञ्जस्यका लागि खुला मञ्च पनि हो । निर्वाचन प्रणालीबारे साक्षरता बढाउने साधनका रूपमा पनि मिडियाको भूमिका छ । कम भोट खस्ने तथा खसेका भोटमध्ये पनि कतिपय मत बदर हुने समस्यालाई समाधान गर्नका लागि मिडियाले उत्प्रेरक एवं प्रशिक्षणकर्ताको भूमिका मार्फत योगदान गर्न सक्छ । स्थानीय निर्वाचनमा स्थानीय मिडियाले स्थानीय जनसमुदायसँग निकट रहेर उपर्युक्त सबालमा झन् प्रभावकारी कार्य गर्न सक्छ ।
कस्ता मिडियालाई स्थानीय मिडिया भन्ने सबाल यहाँ विचारणीय छ । मिडियाले कुनै सीमित भूभागका गतिविधिका रिपोर्टिङमा आफ्नो दायरा विशिष्टिकृत बनाएको छ वा रिपोर्टिङ जहाँकहीँका घटना तथा अवस्था बारे गरिए पनि उत्पादित समाचार सामग्रीको वितरण कुनै निश्चित भूभागमा मात्रै हुन्छ वा कुनै विशेष भूभागका बासिन्दालाई मात्रै लक्ष्यित प्रापकका रूपमा लिइएको छ भने यो स्थानीय मिडियाको विशेषता मानिन्छ । नेपालमा प्रेस काउन्सिलले गर्ने वर्गीकरणमा पत्रपत्रिकालाई राष्ट्रिय र स्थानीय भनी छुट्टाछुट्टै वर्गीकरण हुने गरेको अभ्यास यहाँनेर उल्लेखनीय छ । स्थानीय भनेर विशिष्टिकृत हुँदा त्यसले रिपोर्टिङमा प्राथमिकता दिइने भूभाग, संस्था, निकाय, विषयवस्तु, लक्ष्यित प्रापक, बजार आदिमा कुनै स्थान–विशेषको प्राथमिकतालाई देखाउँछ । जिल्ला–केन्द्रित हुनु वा पालिका–केन्द्रित हुनु यसैको उदाहरण हो ।
अन्तर्राष्ट्रिय, राष्ट्रिय वा स्थानीय जुनसुकै दायरामा कार्य गर्ने भए पनि मिडियाका आधारभूत प्रकार्य समान छन् । यस हिसाबले हेर्दा निर्वाचनमा मिडियाको भूमिका र कार्यको विश्लेषण गर्दा आमनिर्वाचन र स्थानीय निर्वाचनका परिप्रेक्ष्यमा छुट्टाछुट्टै र अझै स्थानीय मिडियाकै दृष्टिबिन्दुबाट छुट्टै विश्लेषण गर्नुपर्छ कि पर्दैन भन्ने सबाल उठ्नु स्वाभाविक हो । विज्ञहरूले त्यस्तो आवश्यकता वा औचित्यको पक्षमा मतैक्य व्यक्त गरेको देखिन्छ । किनभने आमनिर्वाचन र स्थानीय निर्वाचनका केही समान र धेरै अलग अलग विशेषता छन् । त्यस्तै, स्थानीय मिडियाले आमनिर्वाचनमा र स्थानीय निर्वाचनमा गर्न सक्ने योगदान तथा खेल्न सक्ने भूमिका फरक फरक परिमाणका हुन्छन् । नेपालमा हाल बहाल रहेको सङ्घीय ढाँचामा स्थानीय सरकारको शक्तिशाली भूमिका र विशेष जिम्मेवारीका कारणले स्थानीय निर्वाचन र स्थानीय मिडियालाई साथमा राखेर हेर्नु झन् आवश्यक देखिन्छ ।
आमनिर्वाचनको तुलनामा स्थानीय निर्वाचनमा स्थानीय मिडियाले खेल्न सक्ने भूमिका, गर्न सक्ने क्रियाकलाप र पार्न सक्ने प्रभावको दायरा धेरै बढी हुन्छ । स्थानीय विकास निर्माणको अवस्थाको अनुगमन र स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र अन्य जिम्मेवार तथा सरोकारवाला पक्षका क्रियाकलापको नजिकबाट पर्यवेक्षण गर्न स्थानीय मिडियालाई सहज हुन्छ । नयाँ वा साना राजनीतिक पार्टीका तथा स्वतन्त्र वा निर्दलीय उम्मेदवारलाई स्थानीय मिडियाले सहज पहुँच दिने र उनीहरूका सिद्धान्त, नीति, योजनालाई जनसमक्ष प्रस्तुत गरिदिने गर्न सक्छन् । स्थानीय आवश्यकता, चासो, जनसरोकार र अभिमतबारे मिहिन बहस गर्न स्थानीय मिडियामा जति पहुँच, सहजता र विज्ञता हुन्छ, त्यो पहुँच, सहजता र विज्ञता राष्ट्रिय मिडियासँग हुँदैन ।
स्थानीय मिडिया कमजोर भएका देशमा स्थानीय चुनावमा पनि त्यहाँका तृणमूल (ग्रासरुट) तहका समस्याले स्थान नपाउने समस्या रहन्छ । नेपालजस्ता जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं भौगोलिक विविधता भएका देशमा देशका विभिन्न भूभागका आवश्यकता पनि विभिन्न प्रकारका हुने भएकाले प्रादेशिक तथा राष्ट्रिय कार्यक्षेत्र भएका मिडियामा तिनीहरूबारे पर्याप्त कभरेज नहुने अवस्था बढी देखिन्छ । तसर्थ स्थानीय आवश्यकता, मुद्दा, सरोकार र जवाफदेहिताबारे सार्वजनिक बहस र विचार विमर्श हुन स्थानीय मिडिया नै आवश्यक पर्छन् । स्थानीय निर्वाचनमा स्थानीय मिडियाले स्थानीय आवश्यकतालाई उजागर गर्न विशेष अवसर पाउँछन् ।