• १२ साउन २०८१, शनिबार

शिक्षा क्षेत्रका समस्या समाधान गर्न सङ्घीय शिक्षा ऐन आउनुपर्छ : मन्त्री चौधरी

blog

ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री चौधरीको सचिवालय

काठमाडौँ, वैशाख २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गर्नुभयो । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो ।

‘‘संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक(फरक व्यवस्था गर्न पाउने व्यवस्था छु,’’ उहाँले भन्नुभयो, ‘‘राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ ।   विद्यालय, माध्याह्निक विद्यालय विद्यालय स्थानीय तहमै हुने भएकाले केही केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ ।’’

शिक्षण सिकाई अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । ‘‘शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छ,’’ उहाँले भन्नुभयो, ‘‘हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो ।

‘‘सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्री ज्यूले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुन सक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।’’ उहाँले भन्नुभयो ।

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ट्रर्‍याकिङ सिस्टम प्रयोग गर्ने गरेको भन्दै उहाँले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सकेमा धेरै राम्रो हुने समेत बताउनुभयो ।

विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो । भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिकाहरू नै भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्‍मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकहरूमा छलफल भइरहेको समेत बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।