• ८ जेठ २०८१, मङ्गलबार

सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतना

blog

मीना कंडेल

कावासोती, वैशाख २८ गते । पूर्वी नवलपरासी दुर्घटना हुने गण्डकी प्रदेशकै पहिलो जिल्लाका रुपमा चिनिन्छ । पूर्वी नवलपरासी सडक दुर्घटना र अपराधिक क्रियाकलापमा प्रदेशकै पहिलो जिल्लाका रुपमा रहेको छ । 

चार नगरपालिका र चार गाउँपालिका रहेको नवलपुरमा विगतको वर्षको तुलनामा अपराधिक घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्क छ । जिल्लामा गत साउन महिनादेखि चैत मसान्तसम्म ५८ सवारी साधन दुर्घटना भएको थियो जसमा २७ जनाको ज्यान गएको छ । यसैगरी २०८०।०८१ को साउनदेखि चैतसम्म ९८ सवारी दुर्घटनामा ३९ जनाको ज्यान गएको छ । दिनानुदिन सवारी दुर्घटना बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न नवलपुर प्रहरीले सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरी हाम्रो साथी भएकाले गाउँ गाउँमा प्रहरी सचेतनाका कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेदबहादुर पौडेलले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गसँगै भित्री सडकमा सवारी दुर्घटना बढ्ने भएकाले सर्वसाधारण, विद्यार्थी, सवारी चालक, सहचालक व्यवसायीलाई ट्राफिक नियम पालनासम्बन्धी सचेतना दिएको उहाँले बताउनुभयो । हालसम्म सर्वसाधारण चार हजार पाँच सय ८३, विद्यार्थी १३ हजार ७ सय १९, नयाँ चालक दुई हजार ३८३, चालकयात्रु ७७ हजार पाँच सय ६८, लाई सचेतना कार्यक्रम गरी प्रशिक्षण दिइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले नवलपुरमा मात्र हप्तामा औसतमा दुई वटा ठूला दुर्घटना हुँदा एक जनाको मृत्यु हुने गरेको बताउनुभयो ।  दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔं भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख आर्चायले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वमा हरेक वर्ष सवारी दुर्घटनाबाट १३ लाख ५० हजार मनिसले ज्यान गुमाउँछन् भने हरेक दिन ३ हजार ५ सयको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ । नेपालमा दैनिक १२ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ ।”

यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरी गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत प्रचार पम्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सेना सशस्त्र प्रहरी , विद्यार्थीलाई प्रशिक्षण ,साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्नै, सवारी चालकको स्वास्थ्य परिक्षण , सवारीको यान्त्रिक परिक्षण ,ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो । दुर्घटनामा पर्नेमध्ये २४ प्रतिशत मोटरसाइकल, २३ प्रतिशत पैदल यात्रु र ३ प्रतिशत साइकल यात्रु रहने ट्राफिक प्रहरीको भनाइ छ ।