• ८ जेठ २०८१, मङ्गलबार

बालविवाहविरुद्ध सचेतनाका लागि बाल मेला

blog

निस्दी गाउँपालिका वडा नं। २ ले अंशुवर्मा मावि सहलकोटमा सञ्चालन गरिएको मिनी बाल मेला । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २८ गते ।
जिल्लाको निस्दी गाउँपालिकामा बालविवाहविरुद्धमा बाल मेला भएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन हुँदै आएको निस्दीमा बालविवाह अन्त्यका लागि बालबालिकालाई जागरुक बनाउन बालमेला सञ्चालन गरिएको हो ।

निस्दी गाउँपालिका वडा नं. २ ले अंशुवर्मा मावि सहलकोटमा मिनी बाल मेला सञ्चालन गरेको हो । वडा भित्रका पाँच सामुदायिक विद्यालयका विद्यार्थीको सहभागीतामा भएको मेलाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले बालअधिकारको संरक्षण गर्नु राज्यको मात्र नभै प्रत्येक सचेत नागरिकको समेत दायित्व रहेको बताउनुभयो । उहाँले सामाज रुपान्तरणका लागि पूर्वाधार विकासमा मात्र नभै शिक्षा र स्वास्थ्यमा पालिकाहरुले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले २०८३ भित्र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न प्रतिवद्ध भएर लागेको बताउनुभयो । बालबालिकाको नैसर्गिक अधिकार सुनिश्चित गर्न बालमैत्री अभियान सञ्चालनमा रहेको र युवालाई स्वदेश मै रहने वातावरण तयार गर्न युवा मैत्री अभियानको समेत थालनी गरिने जानकारी गराउनुभयो । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले पूर्वाधार विकाससँगै अझ संवेदशिल सामाजिक विकासमा लगानी बढाउँदै जाने बताउनुभयो ।


निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बालविवाह अन्त्यका लागि शैक्षिक जागरणको खाँचो औंल्याउनुभयो । अंशुवर्मा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविलाल लामिछाने र निस्दी गाउँपालिका ३ का वडा अध्यक्ष नविन्द्र थापा सोतीले बालमेलाले सचेतनासँगै बालबालिकामा प्रतिस्पर्धाको भावनाको विकास गराएको बताउनुभयो । निस्दी–२ का वडा अध्यक्ष फत्ते सिं दर्लामीले वडालाई २०८१ भित्र बालमैत्री घोषणा गर्ने सचेतनासँगै सरोकारवालाहरुलाई सशक्त बनाएर अघि बढेको जानकारी गराउनुभयो ।

बालमैत्री अभियान सुरु हुनु पूर्व गत वर्ष एउटै वडामा १० जोडीदेखि झण्डै ४५ जोडीको बालविवाह भएको पाइएकोमा अहिले न्यून सङ्ख्यामा रहेको निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुश्माखर पाण्डेले जानकारी दिनुभयो । पालिकाका जनप्रतिनिधि, राजनैतिक दल, विद्यार्थी, शिक्षक, बाल क्लव लगाएतका सरोकारवालाको सक्रियतामा बालविवाह रोक्ने प्रयास हुँदै आएको बताउनुभयो । बालविवाहलाई शून्यमा झार्नका लागि विद्यार्थीहरुलाई थप सचेत र सक्रिय बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।


मिनी बाल मेला मार्फत विद्यार्थीले बालविवाहविरुद्ध आवाज उठाएका छन् । सहभागी विद्यार्थीले पञ्चेबाजाका साथ बाल हिंसाको अन्त्य, बालविवाहविरुद्ध सचेतना तथा बाल अधिकारको रक्षाका लागि नारा सहितको र्‍याली निकालेका थिए । मेलामा आयोजना गरिएको कक्षा ६ देखि ८ सम्म बालविबाह अन्त्यका लागि हाम्रो भूमिका विषयक वक्तृत्वकला र कक्षा नौ देखि १२ सम्म लोक नृत्य प्रतियोगितामार्फत विद्यार्थीले बालविवाह अन्त्यका लागि धारणा प्रस्तुत गरेका थिए । मेलाका बालविवाहविरुद्धको सडक नाटक प्रदर्शनसँगै बालबालिकाको मनोरञ्जन तथा बौद्धिक विकासका लागि अन्य प्रतियोगिता समेत भएको थियो ।